रुकुम पश्चिम ।
रुकुम पश्चिममा प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ । मदिराले मातेको युवाहरुलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।
झडपमा परी प्रहरी सहायक निरीक्षक कोमलराज बोहरा गम्भीर घाइते भएका छन् । उनलाई शुक्रबार राति नै रुकुम पश्चिममा प्रारम्भिक उपचार गरी थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेज लगिएको थियो ।
त्यहाँ पनि उपचार सम्भव नभएपछि शनिबार हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ ।
युवाहरूको ढुंगा आक्रमणबाट सहायक निरीक्षक कोमलराजको टाउकोमा गहिरो चोट लागेको छ। त्यस्तै तल पट्टीको तीन वटा दाँत झरेको तथा माथि पट्टीको एउटा दाँत हल्लिएको प्रहरीले जनाएको छ ।
युवाको आक्रमणबाट प्रहरी हवल्दार कालिबहादुर बोहरा पनि घाइते भएका छन्। उनको दाहिने हातको बुढी औंलामा, ढाडमा चोट लागेको छ। त्यस्तै प्रहरी जवान लक्ष्मण गुरुङको टाउकोमा चोट लागेको छ।
अन्य चार जना प्रहरी जवान समान्य घाइते रहेको प्रहरी प्रवक्ता शाहले जानकारी दिए। झडपमा परी सात जना प्रहरी घाइते भएको उनले बताए।
प्रहरीमाथि ढुंगामुढा गरेको अभियोगमा ६ युवालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिइएको छ।
पक्राउ पर्नेमा रूकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं ५ का २० वर्षीय नरेश पुन मगर, वडा नं १ खानेपानी टोलका १८ वर्षीय राजनप्रकाश गिरी, सोही ठाउँका २० वर्षीय आकाश परियार, रूकुम पूर्वी जिल्लाको भूमे गाउँपालिका घर भइ हाल रूकुम पश्चिमको मुसिकोट नगरपालिका ५ बस्दै आएका २३ वर्षीय मर्कुश पुन मगर, मुसिकोट १० का २४ वर्षीय खडानन्द केसी र मुसिकोट १ का २५ वर्षीय हरिबहादुर घर्ती छन्।
घटनामा संलग्नमध्ये धनिराम नेपाली र स्वयल बिक भने फरार रहेको शाहले जानकारी दिए।









प्रतिक्रिया दिनुहोस्