20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सिंजा सभ्यताको संरक्षण गर्न गैरसरकारी विधेयक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज ११, २०७८  

सुर्खेत ।

सिंजा सभ्यताको विकास तथा संरक्षण गर्न पहिलो पटक कर्णाली प्रदेशसभामा ‘गैरसरकारी विधेयक’ दर्ता भएको छ । कर्णाली सरकारका पूर्व कानूनमन्त्री तथा जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ आईतबार प्रदेशसभामा दर्ता गराएका हुन् ।

देशको मूल सभ्यतासँगै भाषाको उद्गमस्थलका रूपमा रहेको सिंजा क्षेत्रको संरक्षण तथा विकासका लागि आवश्यक ठानिएकाले गैरसरकारी विधेयक दर्ता गराइएको सांसद भण्डारीले जानकारी दिए ।

‘विधेयकले खस संस्कृतिको संरक्षण, प्रचारप्रसारका लागि कोसेढुंगाको काम गर्ने विश्वास लिएको छु,’ भण्डारीले भने । सिंजा सभ्यता क्षेत्रको सामाजिक, धार्मिक, भाषिक, आर्थिक, सांस्कृतिक तथा पर्यटकीय पूर्वाधारहरुको विकास गर्न यो विधेयक प्रदेशमा आवश्यक रहको सांसद भण्डारीले बताए ।

उनले भने, ‘राज्यले नै गैरसरकारी विधेयकबारे चासो नदिएकाले मैले यो दर्ता गरेको हुँ ।’ सिंजा सभ्यता क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका मठ–मन्दिर, थान, ताल, सरोवर, गुफा र अन्य तीर्थस्थलहरूको पहिचान, खोजी तथा अनुसन्धान गर्ने, सिंजा सभ्यता क्षेत्रको वातावरणीय सन्तुलन कायम राख्न आवश्यक काम गर्ने विधेयकमा उल्लेख छ ।

यस्तै कार्यकारी परिषद् र प्राधिकरणको पनि गठन गरिनेछ । कार्यकारी परिषद्को अध्यक्षको काम गर्ने गरी एक जनालाई उपाध्यक्ष नियुक्त गर्ने व्यवस्था विधेयकमा गरिएको छ । कार्यकारी परिषद्लाई निर्देशन, रेखदेख गर्नका लागि कर्णाली प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा सिंजा सभ्यता संरक्षण तथा विकास सभा गठन गर्ने विधेयकमा उल्लेख छ ।

सभामा प्रदेश सरकारबाट नियुक्त हुने उपाध्यक्षसँगै जुम्लाको सिंजा क्षेत्राट निर्वाचित प्रदेश सांसद, प्रदेश योजना आयोगका सदस्य, प्रमुख सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था गरिएको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालय जुम्लाको कनकासुन्दरी गाउँपालिका राख्ने उल्लेख छ । यस्तै दैलेखको दुल्लू र सुर्खेतको वीरेन्द्रनगरमा शाखा कार्यालय स्थापना गरिने विधेयकमा उल्लेख छ । ‘जुम्लासँग मात्रै सिंजा सभ्यता जोडिएको छैन, दैलेखको दुल्लू हुँदै सुर्खेतको काँक्रेविहारसम्म जोडिएको छ, त्यसैले दुल्लू र सुर्खेतमा कार्यालय राख्न आवश्यक छ,’ सांसद भण्डारीले भने ।

भण्डारीले दर्ता गराएको विधेयकको दर्ता नम्बर ५८ (गैरसरकारी क्षेत्रबाट पहिलो) रहेको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए । ‘प्रदेशमा यो पहिलो र नयाँ अभ्यास हो । यसले आवश्यक परेको खण्डमा गैरसरकारी विधेयक ल्याउन सकिन्छ भन्ने सन्देश दिएको छ,’ सचिव बुढाथोकीले भने ।

प्रकाशित मितिः सोमवार, अशोज ११, २०७८     10:58:15 AM  |