8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

लक्ष्यभन्दा ६७ प्रतिशतले राजश्व वृद्धि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७८  

फुङ्लिङ,  जेठ (रासस) : ताप्लेजुङको मेरिङदेन गाउँपालिका आर्थिक वर्ष २०७८÷७९ शुरुआत हुन एक महिना अगाडि नै ६७ प्रतिशतले बढी राजश्व सङ्कलन गर्न सफल भएको छ ।

गाउँपालिकाले चालु आव २०७८÷७९ मा रु १९ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको थियो । गत साउन १ देखि जेठ २८ गतेसम्ममा रु ३३ लाख एक हजार ४३४ आन्तरिक राजश्व सङ्कलन भएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मी जुहानले बताउनुभयो ।

पालिकाको लक्ष्यभन्दा ६७ प्रतिशतले बढी राजश्व सङ्कलन गर्न गाउँपालिका सफल भएको सूचना अधिकारी चुहानले बताउनुभयो । लक्ष्यभन्दा रु १३ लाख २६ हजार ४३४ राजस्व सङ्कलन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिकाको कार्यालय सान्थाक्राले रु १० लाख १७ हजार ३० राजश्व सङ¬्कलन गरेको छ । गाउँपालिकाले रु तीन लाख ७१ हजार ५५१ बेरुजु असुल गरेको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले बताउनुभयो । रु आठ लाख १३ हजार ६०० ढुङ्गा, गिट्टी, बालुवा ठेक्कावापत गाउँ कार्यपालिकाले राजश्व असुल गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ । कर दस्तुरवापत वडा नं १ थिङ्लाबुले रु दुई लाख ६६ हजार ८४१, वडा नं २ सान्थाक्राले रु तीन लाख २४ हजार ५७० राजश्व सङ्कलन गरेको छ ।

त्यस्तै वडा नं ३ ले रु ५० हजार ७१० सङ्कलन गरेको गाउँपालिकाले जनाएको छ । वडा नं ४ ले रु एक लाख २९ हजार १११ सङ्कलन गरेको छ । वडा नं ५ ले रु तीन लाख ९०० र वडा नं ६ ले रु २७ हजार १२१ राजश्व सङ्कलन गरेको प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले बताउनुभयो ।

प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७८     4:22:32 PM  |