18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

नागरिक जोगाउन सहयोग जुटाउँदै डोल्पाली युवा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८  

डोल्पा, जेठ (रासस)  विश्वभर महामारीको रूपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट डोल्पाली नागरिक जोगाउन स्थानीय युवाले सहयोग सङ्कलन अभियान शुरु गरेका छन् ।

जिल्लाको ठुलिभेरी नगरपालिका अन्तर्गत पर्ने जुफाल बस्ने बालकृष्ण डाँगी, मनराम ठकुल्ला, ज्ञानेन्दविक्रम शाहीले शुरुमा सामुहिक २५ हजार रकम जम्मा गरेर यो अभियान थाल्नुभएको हो । आधारभुत स्वास्थ्य सुविधामा पछि परेका दुर्गम डोल्पामा सङ्क्रमित नागरिक जोगाउन पूर्व तयारी स्वरूप हेल्पिङ् ह्याण्डमार्फत आर्थिक सहयोग जुटाउन अभियाननै चलाइएको हो । एकसाताबाट थालिएको यस अभियानमा विभिन्न व्यक्ति र संस्थाबाट दश लाख नगद रकम सङ्कलन भइसकेको अभियान्ता बालकृष्ण डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्कलित रकममध्ये छ लाखबाट अक्सिजन सिलिण्डर, औषधि, मास्क, स्यानीटाइजर लगायतका सामग्री खरिद गरिएको छ । त्यसमा स्वास्थ्यकर्मीका लागि पनि आवश्यक सामग्री खरिद भएको र अवस्था हेरेर जिल्ला अस्पताल लगायतका आठवटै स्थानीय तहमा पठाउने योजना रहेको जनाइएको छ ।

सदरमुकाम दुनैमा पनि नागरिक सहायता कोष मार्फत दुई लाख रकम सङ्कलन गरिएको छ । नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढा, युवा समाजसेवी ओमेन्द्र केसी, पत्रकार टेकबहादुर शाही, समाजसेवी युवा योगेन्द्र बुढा लगायतले यो अभियान थाल्नुभएको हो ।

सङ्कलित रकम अत्यतै विपन्न नागरिकको उपचारमा खर्च गरिने नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिनुभयो । कोषको सदरमुकाम दुनै स्थित सिटिजन्स बैंकमा रहेको खाता नं ०४२०१ ००००००४६३०१ मा रकम जम्मा गरि सहयोग गरिदिन अपिल समेत गरिएको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८     9:20:34 AM  |