7 September 2024  |   शनिबार, भदौ २२, २०८१

सकियो क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २७, २०७७  

कोहलपुर ।

कोहलपुर नगरपालिका भित्रका संस्थागत विद्यालयका संगठनको १२ औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता समापन भएको छ । बुधबार लुम्बिनी प्रदेशका निर्माण व्यवसायीका महासचिव प्रकाश शाहले प्रतियोगिताको समापन गरेका थिए । समापनका क्रममा बोल्दै उनले संस्थागत विद्यालयहरुले बालबालिकाहरुको ठूलो भविष्य बोकेको बताए ।

‘निजी विद्यालयहरुले आफ्नो भविष्य निकै जोखिममा राखेर अन्य स– साना बालबालिकाको भविष्य उज्जवल बनाईरहेका छन’, उनले भने, ‘यो महामारीमा निकै समस्यामा संस्थागत विद्यालयहरु रहेका थिए ।तर बालकालिकाको भविष्यको बारेमा भने निरन्तर बैकल्पिक माध्यमबाट कक्षाहरु सञ्चालन भइरहे।’

यस्तै क्रिसा बाँकेका अध्यक्ष शिव डाँगीले प्रतियोगिताको भव्य र सभ्य रुपमा सम्पन्न भएको बताए । उनका अनुसार बालबालिकाको सर्र्वाङ्गिक विकास गर्नेका लागि हरेक क्षेत्रमा अग्रणी भूमिका खेल्ने विश्वास दिए । कोहलपुरमा क्रिसाले १२ औं क्रिसा रनिङ्ग शिल्ड सम्म आउँदा निकै कठिनाईहरु भएका थिए तर पनि निरन्तर कार्यक्रमहरु गरिरहेका उनको भनाई थियो ।

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष निरज चलाउनेले संस्थागत विद्यालयहरुको संरक्षणका लागि नगरपालिकाले नीति र कार्यक्रमहरु बनाउने बताए । अहिले कोहलपुरलाई शैक्षिक हव बनाउनका लागि संस्थागत विद्यालयहरुले निकै महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रसंसा समेत व्यक्त गरे ।

प्रथम उपाधि ग्रिन पिस

१२ औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको प्रथम उपाधि ग्रिन पिस स्कुलले प्राप्त गरेको छ । ग्रिन पिस स्कुलले ३ स्वर्ण, १ रजत प्राप्त गरी प्रथम उपाधि प्राप्त गरेको हो ।

जसमा ग्रिन पिसले माध्यमिक तहमा छात्रातर्फ १०० मिटर दौड, छात्रातर्फ लङ्गजम्प र छात्रातर्फ सटपुटमा प्रथम स्थान ल्याएको थियो भने छात्रातर्फ ४ गुना १०० मिटर दौडमा दोस्रो स्थान र प्राथमिक तहमा भने छात्रातर्फ ४ गुना १०० मिटर दौडमा तेस्रो स्थान ल्याएको थियो । प्रथम उपाधि नगद ३० हजार सहित मेडल समेत प्राप्त गरेको छ ।

यस्तै जनज्योति पब्लिक हाइस्कुल २ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गरी दोस्रो स्थान हुन सफल भएको छ । माध्यमिक तहमा छात्रातर्फ ४ गुना १०० मिटर दौडमा प्रथम, छात्रतर्फ ४ गुना १०० मिटर दौड दोस्रो, छात्रतर्फको १५०० मिटर दौडमा तेस्रो, छात्रातर्फको १५०० मिटर दौडमा दोस्रो, सटपुटमा छात्रतर्फ प्रथम र छात्रातर्फ दोस्रो स्थान ल्याएका थिए ।

यस्तै प्राथमिक तहमा छात्रातर्फको १०० मिटर दौडमा तेस्रो, छात्रतर्फको ४ गुना १०० मिटर दौडमा प्रथम र छात्रातर्फको ४ गुना १०० मिटर दौडमा दोस्रो स्थान ल्याउन सफल भएको थियो । सो विद्यालयले नगद २० हजार सहित मेडल समेत प्राप्त गरेको थियो ।

यस्तै गोर्खा यूनाईटेड स्कुलले २ स्वर्ण, १ रजत र १ कास्य तस्रो स्थान ल्याएको छ । माध्यमिक तहको छात्रतर्फको १०० मिटर दौडमा दोस्रो, छात्रतर्फको ४ गुना १०० मिटर दौडमा प्रथम, छात्रतर्फको सटपुटमा तेस्रो, छात्रतर्फको लङ्गजम्पमा प्रथम र प्राथमिक तहको छात्रातर्फको १०० मिटर दौडमा समेत प्रथम हुन सफल भएको छ । सो विद्यालयले १० हजार नगद सहित मेडल समेत प्राप्त गरेको थियो ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २७, २०७७     8:30:47 AM  |