‘नागमणी’को मुल्य दुई करोड, ३ जना युवा पक्राउ



नेपालगञ्ज ।

जिल्ला प्रहरी कार्यालय बाँकेले ‘नागमणी’ दिने भन्दैं ठगि गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । नागमणीको खुल्य करिब २ करोड रुपैयाँमा राखेर कारोबार गरेर ठगि गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई बाँके प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।

दाङ घोराही उपमहानगरपालिका–१७ का माधवप्रसाद घिमिरेबाट बहुमूल्य नागमणी बापत एक करोड उनानब्बे लाख पचास हजार रकम लिइ ठगि गर्ने ३ जना युवा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार ठगि आरोपमा पक्राउ पर्नेमा दैलेख नौमुले गाउँपालिका–४ का धनबहादुर रोका, सल्यान कुमाख गाउँपालिका–५ का कृष्ण शाह र सल्यानकै शारदा नगरपालिका–९ का डिल्लीबहादुर बोहरा रहेका छन् ।

उनीहरुलाई १५ कार्तिकमा नेपालगञ्ज उप–महानगरपालिका–१ धम्बोझीबाट पक्राउ परेका थिए । उनीहरुको साथबाट ४० लाख नगद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिए ।

‘विभिन्न प्रलोभनमा पारेर उनीहरुले घिमिरेलाई ठगी गरेको देखिन्छ’ उनले भने, ‘४० लाख नगद उनीहरुको साथबाट बरामद गरेका छौं । तर नागमणी भने फेला पर्न सकेको छैन ।’

प्रहरीका अनुसार उनीहरुले नागमणी आफूसाथ राख्दा यसको धार्मिक महत्व हुनुका साथै व्यापार व्यावसाय राम्रो हुन्छ, घरमा लक्ष्मीको बास हुन्छ, परिवारका सदस्यको आयु लामो हुन्छ, घर परिवारमा सुख, शान्ति र समृद्धि हुन्छ भन्ने प्रलोभनमा पारेका थिए ।

दाङका घिमिरेलाई विभिन्न प्रलोभन देखाएर नागमणी ल्याइदिने भन्दै एक करोड ८९ लाख ५० हजार रकममा डिल गरेका थिए । बयान बाफत सुरुमा उनीहरुले ४० लाख रकम बुझेको पाइएको बाँके प्रहरीले जनाएको छ ।

उक्त ४० लाख रकम भने बाँके प्रहरीले बरामद गरिसकेको छ । उनीहरुमाथि मुलुकी फौजदारी कार्यबिधी संहित २०७४ को दफा २४९ अनुसार ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

यसबारे थप अनुसन्धान अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक १९ गते बुधबार