नेपालगञ्ज ।
निजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको बाँके शाखाले विहिबार विभिन्न कार्यक्रमका साथ आज आफ्नो २९ औं स्थापना दिवस मनाउँदैछ । प्याब्सन डे मनाउने कार्यक्रमहरुका बारेमा नेपालगञ्जमा बुधबार पत्रकार सम्मेलन गरेर प्याब्सन बाँकेका अध्यक्ष राजेन्द्र आचार्यले उक्त अवसरमा जिल्लाका १ सय १३ जना उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिने कार्यक्रम रहेको जानकारी दिए ।
सम्मानका लागि प्याब्सनमा आवद्ध जिल्लाका १ सय १० वटा विद्यालयबाट एक एक जना उत्कृष्ट शिक्षकको छनोट गरिएको बताउँदै उनले लामो समयदेखि एउटै विद्यालयमा काम गर्ने जिल्लाका तीन जना शिक्षकलाई दिर्घ सेवा पदकबाट सम्मान गरिने बताए । दिर्घ सेवा पदकबाट सम्मानित हुने शिक्षकहरुलाई जनही ५ हजार ५१ रुपैयाँको नगद पुरस्कार समेत प्रदान गरिने जनाउँदै उनले अन्य १ सय १० जना शिक्षकलाई कदरपत्रबाट सम्मान गरिने जानकारी दिए । स्थापना दिवसको अवसरमा आज बिहान नेपालगञ्जमा प्रभातफेरीको आयोजना गरिनेछ ।
प्रभातफेरी कार्यक्रममा बालबालिकालाई समावेश नगरेर शिक्षक र कर्मचारीहरुलाई मात्र समावेश गरिने प्याब्सन कोहलपुर नगरका अध्यक्ष यम रावतले जानकारी दिए । प्याब्सन डे को अवसरमा सिद्धार्थ कटेजमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको उनले बताए । पत्रकार सम्मेलनमा अवसरमा प्याब्सन खजुराका अध्यक्ष मित्रलाल शर्मा र प्याब्सन बाँकेका कोषाध्यक्ष दिनेश शर्माले प्याब्सन डे को कार्यक्रमलाई सफल पार्न प्याब्सनमा आवद्ध सबै विद्यालयलाई आ आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका थिए । बाँकेका निजि विद्यालयहरुलाई क ख र ग गरी तीन श्रेणीमा विभाजन गरिएको र सोही श्रेणी विभाजन अनुसार शुल्क निर्धारण हुँदै आएको प्याब्सन बाँकेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्