नेपालगञ्जको जुवा खालमा प्रहरीको छापाः करिब ३० लाखसहित ठूला व्यवसायी पक्राउ



कृष्ण ओली । नेपालगञ्ज ।

बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाको बसपार्क नजिक रहेको एक ठूलो जुवाको खालमा बाँके प्रहरीले छापा मारेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाको कमाण्डमा पुगेको टोलीले बुधबार राती जुवा खालमा छापा मारेर करिब ३० लाख रकमसहित १० जना जुवाडेहरुलाई पक्राउ समेत गरेको छ ।

जुवाको खालबाट ठूलो रकमसहित पक्राउ पर्नेमा नेपालगञ्ज र कोहलपुरका ठूला व्यवसायीहरु रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यसबारे बुझ्न खोज्दा प्रहरी प्रमुख राना र मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक हृदेयश सापकोटाले फोन उठाएनन् ।

प्रहरी स्रोतका अनुसार अहिलेसम्म बाँके प्रहरी र लुम्बिनी प्रदेश प्रहरीको संरक्षणमा नै सञ्चालन भइरहेको जुवा रकमको बिषयमा कुरा नमिल्दा अन्तिम अवस्थामा आएर छापा मारिएको हो ।

जुवाको खालबाट पक्राउ पर्ने जुवाडेहरु भने नेपालगञ्ज र कोहलपुरका ठूला व्यापारी र उद्योगपती रहेका छन् । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय जमुनाहाको हिरासतमा राखिएको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक १३ गते बिहीबार