सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्वविद्यालयलाई राजनीतिकमुक्त बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । कुनै पनि व्यक्ति, कुनै पनि राजनीतिक विचारधारामा आस्था राख्न पाउने अधिकार भए पनि विश्वविद्यालयलाई राम्रो बनाउनका लागि राजनीतिक विचारधारालाई विश्वविद्यालयको गेटभन्दा बाहिर नै राखेर हाम्रो र राम्रो बनाउने विचार मात्र अगाडि बढाउन सबैलाई आग्रह गरेका हुन् ।
कोरोना भाइरसले विश्वमा नै महामारीको रुपमा फैलिएको अवस्थामा मध्यपश्चिमाञ्चल विश्वविद्यालयले के गरिरहेको छ भन्ने बारेमा भर्चुअल माध्यमबाट जानकारी दिदैँ उपकुलपति सिंहले विद्यार्थीको अध्ययन/अध्यापन र परीक्षाका बारेमा विश्वविद्यालयले उपयुक्त समयमा उपयुक्त निर्णय गरेर अघि बढिरहेको जानकारी दिए ।
सहभागीहरुले राखेका विभिन्न जिज्ञासाहरुको जवाफ दिदैं उपकुलपति सिंहले सबै वर्ग र क्षेत्रका विद्यार्थीहरुको पहुँचमा हुने गरी विश्वविद्यालयले विभिन्न रणनीति बनाएर शिक्षण सिकाई क्रियाकलापलाई अगाडि बढाइरहेको बताए ।
उनले विश्वविद्यालयका विद्यार्थीहरुलाई अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धी बनाउन भौतिक तथा शैक्षिक क्रियाकलापलाई एक–दुई जनाको प्रयासबाट मात्र सम्भव नहुने भन्दैँ विश्वविद्यालयका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा शुभचिन्तकहरुले समूहमा मिलेर काम गर्ने परिपाटीलाई अगाडि बढाएमा मात्र सम्भव हुने बताएका थिए ।









प्रतिक्रिया दिनुहोस्