सम्झनामा शहीद हरिबहादुर कुँवर, बन्यो सालिक, पाइएन राख्ने जमिन



दिनेश कुमार बुढा,  सुर्खेत ।

कर्णाली स्वायत्त प्रदेश आन्दोलनका एक शहीद हुन्, जुम्लाका हरिबहादुर कुँवर । उनको २०७२ भाद्र ६ गते उपचारको क्रममा मृत्यु भएको थियो । प्रदेश प्राप्तिको आन्दोलनको क्रममा कुँवर साउन ३१ गते प्रहरीको गोली लागेर गम्भीर घाइते भएका थिए । उनकै सम्झनामा हरिबहादुर कुँवर कर्णाली स्मृति प्रतिष्ठान समेत स्थापना गरिएको छ ।

प्रतिष्ठान कै अगुवाईमा बनेको शहीद हरिबहादुर कुँवरको सालिक निर्माण भएको छ । तर उक्त सालिक राख्ने स्थान नहुँदा यो वर्ष पनि उनको स्मृति दिवशमा शहीद कुँवरको सालिक ठड्याउन सकिएन । यस अघि उनको मृत्यु पश्चात जुुम्ला सदरमुकाम खलंगामा सालिक राख्ने सर्वसहमतिमा निर्णय भएको थियो ।

तर पाँच वर्ष बितिसक्दा समेत उक्त निर्णय कार्यान्वयन हुन नसक्दा सालिक कोठामै छ । साविकको निर्णय अनुसार घरेलु तथा साना उद्योग विकास समितिको उत्तरतिरको भागमा सालिका राख्ने निर्णय भएको हरिबहादुरका दाई राजबहादुर कुँवर सम्झन्छन् । हरिबहादुर कुँवर कर्णाली स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका कुँवरले अहिले नयाँ भवन लगाएर सालिक राख्ने स्थान समेत नभएपछि समस्या भएको गुनासो गरे । शहीदको सम्मानको लागि पनि राजनैतिक दलहरुले गरेको निर्णय कार्यान्वयन हुनुपर्नेमा उनको जोड छ । स्थानीय तहहरुले भने प्रतिष्ठान निर्माणको लागि सहयोग गरेको उनले बताए ।

सालिक निर्माणका लागि भने चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, गुठीचौर र पातारासी गाउँपालिकाको आर्थिक सहयोगमा १३ लाखमा सालिक निर्माण भएको छ । अहिले शहीद कुँवर स्मृति भवन तातोपानी गाउँपालिका वडा नम्बर ७ सर्मीमा निर्माणाधिन छ । उक्त प्रतिष्ठान भवन निर्माणको लागि कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले समेत सहयोग गरेको छ ।

अध्यक्ष कुँवरले मन्त्रालयको ४० लाखको सहयोगमा दुई तला भवन ल्याण्टरको काम सकिएको जानकारी दिए । प्रतिष्ठान भवनको कुल लागत भने एक करोड ३७ लाख रहेको छ । नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महत घरेलु कार्यालयको अगाडि नै सालिक हुनुपर्ने बताउँछन् । उनी भन्छिन्, ‘शहीदको अवमुल्यन कसैले गर्न मिल्दैन । हाम्रो प्रदेश तीनै शहीदको बलिदानीका कारण स्थापना भएको हो । राजनैतिक दल र नेतृत्वहरुले उनको योगदान भुल्नु हुँदैन ।’ उक्त आन्दोलनमा सुर्खेतका तीन जनाले ज्यान गुमाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ११ गते बिहीबार