19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

युवा दिवस आयो तर युवाका दिन कहिल्यै आएन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन २८, २०७७  

क्षितिज पौडेल

युवा दिवस आयो तर युवाका दिन कहिल्यै आएन र अझै पनि आएको छैन । युवा दिवस बिगतका दिनमा झै यस बर्ष पनि मनाउने खासै तयारी भएको पाइदैन ।  वर्तमान समेत हामि युवा दिवस मनाउदै आएका छौं । हाल कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका कारण सरकारले गरेको लकडाउनको पालनाका क्रममा यसपालि युवा दिवसको चर्चा त्यती सुन्न पाइएको छैन । देशको जानसांख्यिक तथा श्रम शक्तिको दृष्टिले सबै भन्दा बढी र सबल क्षेत्रको रुपमा रहेको युवा शक्तिको सही रुपमा पहिचान र उपयोग हुन सकेको छैन । युवाहरु राष्ट्रका भविष्य हुन् ।

जुनसुकै देशमा हुने हरेक प्रकारका परिवर्तनहरुमा युवाहरुको प्रमुख भूमिका रहन्छ । युवा अधिकारका सम्बन्धमा लोकतन्त्र प्राप्ति पूर्वका संविधानमा स्पष्ट उल्लेख भएको पाइदैन । लोकतन्त्रको प्राप्ति पश्चात बनेको नेपालको अन्तरिम संविधान २०६३ ले राज्यका निर्देशक सिद्धान्त र नीति अन्तर्गत धारा ३५ (२०) ले राज्यका नीतिहरुमा युवा जनशक्तिलाई देश विकासमा परिचालन गर्न राज्यले विशेष नीति अवलम्व गर्ने व्यवस्था गरेको छ । युवाशक्ति देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक रुपमान्तरणका संवाहक भएकोले सार्वजनिक नीति चक्रका सबै तहमा युवाको सार्थक सहभागिता सुनिश्चित गर्नु आवश्यक छ ।

सहभागिता र अवसरका दृष्टिले नेपालका युवाहरुको अवस्था सन्तोषप्रद छैन । त्यसमा पनि महिलाहरुको अवस्था अझ नाजुक रहेको छ । युवाका विभिन्न अधिकारहरुलाई सही रुपमा संवधोन गरी उनीहरुको ज्ञान, सीप र अनुभव, र सिर्जनशीलतालाई राष्ट्रिय विकासमा मूलप्रवाहिकरण गर्ने तर्फ राष्ट्रका नीति तथा कार्यक्रमहरु निर्देशित हुनु जरुरी छ ।

। युवा त्यो उमेर समूह हो जसमा राष्ट्रको भविष्यका कर्णाधार वर्तमानका साझेदार तथा विकास र परिवर्तनका संवाहकको सामर्थ्य रहेको हुन्छ । युवाको बास्तबिकत कुनै परिभाषा छैन । सकारात्म तथा सिर्जनात्मक सोचाइ राख्ने सवै जागरुक जमातलाइ युवा भन्दा कुनै फरक पर्दैन ।

राष्ट्र निर्माणमा सबै उमेर र अवस्थाका व्यक्तिहरुको भूमिका महत्वपूर्ण मानिने सन्दर्भमा युवाहरुको भूमिकालाई अझ अर्थपूर्ण र क्रियाशील रुपमा हेरिन्छ । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकर्सित हुने अवसर राज्यले सृजना गर्नु पर्दछ । हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको jनिर्णायक सहभागिताका कारण परिवर्तन संभव भएबाट राज्यले निर्माण गर्ने कानून, नीति एवं कार्यक्रममा युवा र उनीहरुका सरोकारका विषय सम्बोधन हुन आवश्यक मानिन्छ । अन्तर्राष्ट्रिय युवा दिवस १९९९ देखि विश्भरिका राष्ट्रहरूले मनाउँदै आइरहेका छन् ।

राष्ट्रिय युवा नीति २०६६ को कार्यान्वयनका लागि युथ भिजन २०२५, निर्माण हुनु, राष्ट्रिय युवा परिषद गठनको विधयक संसदबाट पास हुनु युवाहरुको लागि निश्चय नै सुखदको कुरा हो । राज्यको ३ तहका सरकारका नीति निर्माण र निर्णय प्रक्रियामा सार्थक सहभागिता सुनिश्चित हुन सकिरहेको छैन । नेपाल कृषि प्रधान देश हो । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा युवाहरुको सक्रिय सहभागिता रहेको छ । कृषि तथा उत्पादनमूलक क्षेत्र र श्रम क्षेत्रमा पनि युवाहरुको उपस्थिति ठूलो छ ।

युवाहरुलाई आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक जीवनमा अर्थपूर्ण सहभागिता र नेतृत्व विकासका माध्यमबाट राष्ट्रिय विकासको मूलप्रवाहमा समाहित गरी सर्वाङ्गीण राष्ट्रिय विकास गर्नु जरुरी छ । अझै पनि सार्वजनिक नीति निर्माणमा युवाहरुको सार्थक सहभागिता रहेको पाइदैन । संघीयता कार्यान्वयनको क्रममा आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक जीवनमा समेत युवाको सहभागिता जाहेर हुनु पर्दछ ।

युवा समावेशीकरण, रोजगारी क्षमता र उद्यमशीलताको विकास पिछडिएका क्षेत्र, वर्ग र समुदायका युवाहरुलाई विशेष संरक्षण युवाहरुबीच लैङ्गकि, जातीय, क्षेत्रीय, भाषिक, साँस्कृतिक लगायतका विभेद र वर्गीय बिभेद अन्त्य, खेलकूद मार्फत शारीरिक तथा मानसिक विकासको अवसर युवाका महत्वपूर्ण पक्षहरु हुन आउछन युवाहरु वास्तविक अर्थमा समाज परिवर्तनका संवाहक शक्ति हुन । देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत देशको समग्र विकासमा युवाको प्रमुख भूमिका रहने भएको र हुनु पर्ने भएकोले युवा राष्ट्र निर्माणका पूर्वाधार हुन् । देशमा शिक्षा, रोजगारी तथा अन्य अवसरहरुको अभावमा देशको प्रमुख उर्जाको रुपमा रहेका युवाहरु विभिन्न कारणले पलायन हुने अवस्था ज्यादै विचारणीय पक्ष रहेको छ ।

युवाहरु नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको भए तापनि यस्तो श्रम शक्तिलाई स्वदेशमा नै परिचालन गर्ने प्रयास हुन नसकेमा भविष्यमा यसबाट देशले ठूलो नोक्सानी व्यहोर्नु पर्ने निश्चित छ । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकका रुपमा विकसित हुने अवसर राज्यले प्रदान गर्नका लागि संविधानले युवाका चासोहरुलाई समुचित ढङ्गले संबोधन गर्न आवश्यक देखिन्छ ।

यसका लागि राष्ट्रिय स्वतन्त्रता, न्याय र शान्ति स्थापनाका लागि युवा शक्तिको परिचालन, देशको समग्र क्षेत्रमा युवाको समानुपातिक सहभागीता, युवाहरु बीच अवसर र रोजगारीका समान अवसर, विदेशमा रहने युवाहरुको संरक्षण र सम्बर्द्धनको व्यवस्था, राष्ट्रिय विकासमा युवाका ज्ञान, सीप र क्षमताको उपयोग जस्ता विषयहरु प्रमुख रुपमा संविधानले संवोधन गर्नु उपयुक्त हुने देखिन्छ ।

अन्तराष्ट्रिय युवा दिवसको नारा YOUTH ENGAGEMENT FOR GLOBAL CHANGE लाई सार्थकताका लागि पनि युवाहरुलाई राज्यका सबै तह तथा निकायमा समान सहभागिता सुनिश्चित गर्नुका साथै संविधानमै युवाको हक अधिकार स्थापित गर्नु आजको आवश्यकता हो ।

प्रकाशित मितिः बुधबार, साउन २८, २०७७     2:39:14 PM  |