नेपालगन्ज (बाँके) ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी रेनुका चन्दले आफ्नो बहिनीको बिहेमा दाइजोका सट्टा ‘जीवनबीमा’ योजना उपहार दिएकी छिन् । गत वैशाख १७ गते भएको विवाहमा चन्दले आफ्नी बहिनी रेनु चन्द र ज्वाइँ हिमाल मल्ललाई वैवाहिक जीवनको शुभकामनाका साथ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको उक्त जीवनबीमा योजना उपहार दिएकी हुन् ।
‘बिहेमा दाइजोस्वरुप प्रदान गरिने भौतिक सामान, वस्तु र नगद केही क्षणका मात्र हुन्, ती चिजहरू छिट्टै नष्ट भएर जान्छन्, मानिसको मानसपटलमा लामो समयसम्म त्यसता चिजहरू बस्दैनन्, ती परम्परागत भइसके ।’ रेनुका चन्दले भनिन्, ‘जीवनबीमा भनेको अमूल्य चिज हो, यो मानिसको मानसपटलमा सदा रहिरहन्छ, त्यसकारण मैले सम्झना स्वरुप मेरो बहिनीको विवाहमा बहिनी र ज्वाइँलाई ५÷५ लाखको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालगन्ज शाखा कार्यालयबाट ‘सिटिजन शुभारम्भ बीमा योजना’ १५ वर्षीय जीवनबीमा योजना उपहार दिएँ ।’
बहिनीको बिहेको अवसरमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको चन्दले बताइन् । जीवनबीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको समेत सुरुवात हुने उनले बताइन् । चन्द सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अभिकर्ता समेत हुन् । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालगन्ज शाखाका प्रमुख अन्जु बानियाले चन्दले आफ्नो बहिनीको बिहेमा कम्पनीको नवीनता सेवा सुविधा भएको ‘सिटिजन शुभारम्भ बीमा योजना’ अन्तर्गत १५ वर्षीय बीमा योजना उपहार दिएको बताइन् । पछिल्लो समयमा नगद र जिन्सी भन्दापनि अधिकांश सेवाग्राहीहरूले जन्मदिन, एनिभर्सरी तथा बिहेजस्ता महत्वपूर्ण विशेष दिनको सम्झना स्वरुप जीबनबीमा उपहार दिने प्रचलन बढिरहेको बानियाले बताइन् ।
‘सिटिजन शुभारम्भ बीमा योजना’ कम्पनीको नवीनतम सेवा सुविधाले भरिपूर्ण भएकाले पनि यो योजनातर्फ सेवाग्राही आकर्षित भएको उनले बताइन् । ‘यो योजनाअन्तर्गत दुर्घटना मृत्यु लाभ, काजकिरिया खर्च, घातक रोगविरुद्धको रक्षावरण सुविधा, स्थानीय अपाङ्गता लाभ, मासिन आय लाभ, किस्ता (बीमा शूल्क) छुट लाभ र दुई गुणा विमाङ्क लाभ सुविधा रहेका छन् ।’ शाखा प्रमुख बानियाले भनिन्, ‘दुर्घटनामा परेर बिमित स्थायीरुपमा अपाङ्ग भएमा कम्पनीले तत्काल ५ लाख रूपैयाँ खातामा हाल्दिन्छ, हरेक महिना एक प्रतिशत रकम व्यक्तिगत खर्च प्रदान गर्दछ, बाँकी प्रिमियम पनि पूरा छुट हुन्छ, १५ वर्षको समयसीमा सकिएपछि ५ लाख र वोनस पनि प्राप्त गर्दछ र बिमितको मृत्यु भएमा बीमा गरेको रकमको डबल रकम, काजकिरिया खर्च र वोनससमेत प्रदान गर्दछ ।’
बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको भन्दै बानियाले बीमा उपहारले जीवनमा सुरक्षा र प्रेरणा दिने, नगद र जिन्सी सामान दिनुभन्दा जीवनबीमालेख उपहार दिँदा जिन्दगीभर उपयोग आउनुका साथै सुरक्षित बचत र दीर्घकालीन बचतमा प्रोत्साहन मिल्ने बताइन् ।









प्रतिक्रिया दिनुहोस्