13 June 2024  |   शुक्रबार, असार १, २०८१

राजनीतिक र उद्यमशीलतामा सक्रिय बिन्दु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार २४, २०८०  

नेपालगन्ज ।

आर्थिक सशक्तीकरणको उदाहरण बनेकी छन्, ‘नेपालगन्जकी बिन्दु चर्ती मगर ।’ सामाजका अन्य कयौं पक्ष जस्तै आर्थिक क्षेत्रमा महिलाको सहभागिता कमजोर छ । त्यसविपरीत थोरै महिला मात्र उद्यमशीलतामा अगाडि देखिएका छन् । ती थोरै महिलामा पर्छिन, ‘बिन्दु ।’
पछिल्लो समय उनी पुष्प व्यवसायमा सक्रिय छिन् । चर्ती फ्लोरा उनको व्यावसायिक प्रतिष्ठान हो ।

आकर्षक फूलहरुको बिक्रीवितरण गर्ने उनी उत्पादनसमेत गर्दै आएकी छिन् । तिहारका लागि उनले फूल खेती गरेकी थिइन् । सकभर स्वदेशमै फूल उत्पादन गर्ने उनको लक्ष्य छ । उनी भन्छिन्, ‘परिस्थितिले साथ दिए फूलमा आत्मनिर्भर हुने गरी अघि बढ्छुँ ।’ अहिले पनि लाखौंको फूल भारतबाट आयात गरिन्छ । फूलमै आत्मनिर्भर हुने हो भने त्यसका लागि पैसा भारत जाँदैन ।

बिन्दु नेपालगन्जका विभिन्न संघसंस्थामा सक्रिय छिन् । अनेक संघसंस्थासँग आबद्ध रहेर लामो समयदेखि सामाजिक कार्यमा लागेकी छन् । व्यवसायसँगै समाजसेवा र राजनीतिमा पनि उत्तिकै सक्रिय चर्तीमगर नेपालगन्ज उपमहानगरपालिकाको निर्वाचनमा राप्रपाबाट उपमेयर पदमा प्रत्यासी थिइन् ।

व्यवसायमा नयाँ आउने महिला उद्यमीदेखि लिएर केही गर्ने जोश र भिजन लिएर व्यवसायमा छिर्ने महिला दिदीबहिनीका लागि प्रेरणा बन्दै स्वरोजगार बन्न प्रेरित गरिरहेकी छन् उनी । नेपालगन्जलाई ‘ग्रीन एण्ड क्लीन सहर’ बनाउने सपना लिएकी चर्ती मगरले अतिविपन्न परिवार तथा महिलालाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ भनेर सक्रिय रहेको बताउँछिन् ।

उसोतः चर्ती मगरले व्यावसायिक जीवनमै धेरै महिलालाई उद्यमी बन्नबाट प्रेरित गरेको र उद्यमी बनाउन विभिन्न तालिम आयोजना गरेर सफल बनाएका उदाहरणको कमी छैन । त्यसै कारण चर्ती मगर इन्टरप्राइज गंवोमन अफद यएर–२०२३ अवार्डबाट पुरस्कृत भएकी छिन् ।

शुक्रबार काठमाडौंमा बिन्दुले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै नगद ५१ हजार रुपैयाँसहित पुरस्कृत भएकी हुन् । स्ट्याण्डर चार्टर्ड बैंकको मुख्य प्रायोजनमा द बिजनेस एजले आयोजना गरेको अवार्ड कार्यक्रममा बिन्दुले बाँकेको पुष्प व्यवसायमा गरेको योगदानको कदर गर्दै उनलाई लुम्बिनीबाट पुरस्कृत गरिएको हो ।

पुष्प खेतीको श्रेय बिन्दुलाई जान्छ भने विगत आठ वर्षदेखि चर्ती प्लोरा नामबाट उनले पुष्प बिक्री केन्द्र सञ्चालन गर्दै आइरहेकी छिन् । सुरुवाती चरणमा १० कठ्ठा क्षेत्रफलमा सयपत्री फूल उत्पादन सुरु गरेकी बिन्दुले हाल करिब ४० कठ्ठा क्षेत्रफलमा सयपत्री, मखमली, गोदावरी फूलहरू उत्पादन गर्दै आईरहेकी छिन् ।

त्यस्तै उक्त कार्यक्रममा सातवटै प्रदेशका एक/एकजना महिला उद्यमीलाई नगद ५१ हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । लुम्बिनीबाट बिन्दुसहित सुदूरपश्चिमबाट संगीता खड्का, कर्णालीबाट सीला नेपाली, गण्डकीबाट सुकुन रसाइली विक, बागमतीबाट अनुष्का श्रेष्ठ, मधेसबाट चनचला दास र कोशीबाट डिना प्रधान पुरस्कृत भएकी छिन् ।

प्रकाशित मितिः आइतवार, असार २४, २०८०     7:42:44 AM  |