विद्यार्थीहरुको उपमेयरलाई प्रश्न,‘हामी गुणस्तरीय शिक्षा कहिले पाउँछौं ?’



डिल्ली शाही ।

बाँकेको कोहलपुर नगरपालिकामा बालबालिकासँग उपमेयर कार्यक्रम शुरु भएको छ । कार्यक्रम अन्तरर्गत पहिलोपटक कोहलपुर उपमेयर सन्जुकुमारी चौधरी शुक्रबार जनज्ञान ज्योति माविमा पुगेकी थिइन् । त्यहाँ कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुसँग उनले एक घण्टा बिताइन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका गुनासा सुन्ने र त्यसलाई समाधन गर्ने उद्देश्यका साथ यो कार्यक्रम शुरु गरिएको हो । एक घण्टासम्म उपमेयर चौधरीलाई विद्यार्थीहरुले आफ्ना विभिन्न समस्याहरु राखेका थिए । कक्षा १० की छात्रा कविता रेग्मीले आफुहरुले गुणस्तरीय शिक्षा पाउन नसकेको भन्दै गुनासो राखिन् ।

‘प्राथामिक तहको शिक्षकले माध्यामिक तहको पाठ्यक्रमलाई कसरी अध्यापन गराउन सक्नुहुन्छ । यो विद्यालयमा मावि तहको दरबन्दी नै छैनन् भन्नुहुन्छ’ उनले प्रश्न गर्दै भनिन्, ‘हामीले गुणस्तरीय शिक्षा कहिले पाउँछौ ?’ ‘बालबालिकालाई भविष्यमा देशको खम्बा भनिन्छ तर खम्बा बन्नका लागि आफ्नो शिक्षामा पाउनुपर्ने किन रोक लगाइन्छ’ उनले भनिन् । कक्षा ९ मा अध्ययनरत छात्र बविन विष्टले विद्यालयमा शौचालयको समस्या रहेको सुनाए । ‘हाम्रो स्कुलमा खानेपानी पनि राम्रो व्यवस्था छैन ।

कहिलेसम्म राम्रो व्यवस्था हुन्छ उपमेयर ज्यू ?’ उनले भने । यसैगरी कक्षा १० मा अध्ययनरत छात्रा अनिता नेपालीले आफुहरुको समस्या बुझ्न स्कुलमा नै आएकोमा उपमेयरलाई धन्यावाद दिइन् । अहिलेको युग विज्ञान र प्रविधिको युग भएको बताउँदै उनले विद्यालयमा अहिलेसम्म कुनै प्राविधिक शिक्षा किन सञ्चालन नभएको भन्दै प्रश्न गरिन् । ‘मलाई प्राविधिक शिक्षा पढ्न असाध्यै मन छ’ उनले भनिन्, ‘विद्यालयमा प्राविधिक शिक्षा नहुँदा आफ्नो रहर पनि पूरा हुन पाएन ।’ कक्षा ९ अध्ययन गर्ने छात्रा सुस्मिता कोइरालाले विद्यालयमा भौतिक पूर्वाधारको समस्या रहेको बताइन् । ‘गर्मीको समयमा टिनको छानोले पोल्छ, वर्षाको मौसममा पानीको थोपाले टिन बज्छ ।

हामीले कहिले राम्रो शिक्षा पाउने ?’ उनले उपमेयरलाई प्रश्न गर्दै भनिन्, ‘कहिले सम्म टिनको छानोमा बस्नुपर्ने हो बताईदिनुहोस् । भन्ने बेलामा वातावरणमैत्री, बालमैत्री भनिन्छ तर कहिल्लै पनि हुँदैन ।’ यस्तै विद्यालयका प्रधानाध्यापक एकदेव पन्थीले स्थानीय तहमा रहेका सामुदायिक विद्यालयहरु सञ्चालन गर्न मुस्किल भएको बताए । ‘कक्षा १ देखि ८ कक्षा सम्म निःशुल्क शिक्षा लागू भएदेखि नीजि शिक्षकहरुलाई तलब दिन निकै समस्या भएको छ’ उनले भने, कि त स्थानीय सरकारले व्यवस्था गरिदिनुप¥यो नत्र भने नीजि शिक्षक हटाई दरबन्दी पुरा गर्नुप¥यो ।’ स्थानीय सरकारले नमूना विद्यालय बनाउने भनेर मात्र नहुने उनको भनाई रहेको थियो । विद्यार्थीहरुको समस्या सुनेपछि उपमेयर चौधरीले समस्याहरु समाधन गर्नको लागि नगरपालिका प्रतिबद्ध रहेको बताइन् ।

‘विद्यार्थी भाइबहिनीहरुका धेरै समस्याहरु सुने’ उनले भनिन्, ‘यहाँका समस्याहरु सम्बन्धित ठाउँमा उठाएर हल गर्ने प्रतिबद्धता जनाउँछु ।’ बालबालिकासँग उपमेयर कार्यक्रमले कोहलपुरको शैक्षिक हवको रुपमा विकास गर्नेमा टेवा पु¥याउँने उनले बताइन् । विद्यालयमा रहेका खानेपानी, शौचालय, कक्षाकोठा, दक्ष शिक्षक लगायतका बिषयहरु आफुले नगरपालिकाको बोर्ड बैठकमा लैजाने उपमेयर चौधरीले विद्यार्थीहरुलाई आश्वसन दिइन् । कोहलपुर नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका समस्या बुझ्नको लागि पहिलोपटक बालबालिकासँग उपमेयर कार्यक्रम लागू गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन १८ गते आइतबार