चेत नारायण पाण्डेय । सुर्खेत । सुर्खेत पञ्चपुरी नगरपालिका वडा नं. ५ मा बस्दै आएकी राधिका बिक (नाम परिर्वतन)ले शिक्षामा प्रविणता तह पास गरेकी छन् । कक्षा १० पास गर्ने बित्तिकै बिहे भयो । दुई सन्तानकी आमा समेत रहेकी राधिकाको १३ वर्षको उमेर देखी नै महिनावारी सुरु भएको हो । उनी पहिलो महिनावारी भएको बेला नै छाउगोठमा बसिन् । अहिले सम्म पनि उनी छाउ ‐महिनावारी) भएको समयमा छाउगोठ मै बस्छिन् । गत वर्ष नगरपालिकाले छाउगोठ भत्काउने अभियान नै चलायो ।
उनी भन्छिन्, ‘गाउँमा भएका सबै छाउगोठ भत्किए, तर बिडम्बना भत्किएका छाउगोठको सट्टा केही नयाँ बने ।’ उनका अनुसार गाउँका धेरै किशोरी तथा महिला छाउगोठ भित्रै बस्छन् । ‘धेरै महिला अहिले पनि छाउगोठ मै बस्न बाध्य छन्’ विकले भनिन्, ‘जनप्रतिनिधिले नै गोठ भत्काए पनि आफ्नै घरमा छाउगोठ बनाएका छन् ।’ सुर्खेतको चौकुने गाउँपालिकाकी सरिता नेपाली पनि छाउ भएको बेला घरमा बस्दिनन् । उनका अनुसार केही वर्ष पहिला गाउँमा सबैले छाउपडि मान्ने गर्ने अहिले केहीले मात्र मान्छन् । ‘छाउपडि प्रथा अझै शिक्षितका घरमा बढि रहेको छ’ सरिताले भनिन्, ‘अधिकारका कुरा गर्नेहरु नै नियम पालना गर्दैनन्, अशिक्षितहरुको के कुरा ।’ उनले स्थानीय सरकारका प्रतिनिधिले सस्तो लोकप्रियताका लागि मात्रै छाउगोठ भत्काएको उनको भनाई छ ।
यि त केवल कर्णालीको राजधानीसँग जोडिएका केही प्रतिनिधि पात्र मात्र हुन् । एक महिला अधिकारर्मी पवित्रा खनालका अनुसार कर्णालीका स्थानीय तहले बजेट सिद्धाउने बहानामा मात्रै छाउगोठ भत्काएको बताइन् । सुर्खेतमा मात्रै करिब २ हजार बराबरी छाउगोठ भएको भन्दै सबै छाउगोठमा बस्नुपर्ने बाध्यता अन्त्य गर्न सरकारले सचेतनाका साथ अभियान चलाउनुपर्ने उनी बताउँछिन् । तर अहिले फेरी घर–घरै छाउगोठहरू देखिन थालेसँगै केही घटना भएपछि छाउगोठ भत्काउन सुरु गरिएको छ । पछिल्लो पटक गृह मन्त्रालयले छाउपडी कुप्रथा अन्त्यका लागि तीन बुँदे निर्देशन जारी गरेर सबै जिल्ला प्रशासन कार्यालयहरुलाई ताकेता गरे पश्चात सुर्खेतमा पनि छाउगोठ भत्काउने अभियान थालिएको हो ।
गृह मन्त्रालयले महिनावारी भएको बेला महिलाहरूलाई छाउगोठमा राख्नेहरूको सामाजिक सुरक्षा भत्ता र सहुलियत कर्जा रोक्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको थियो । यसका साथै छाउपडि प्रथा मान्ने र मान्न लगाउनेलाई कारबाही गर्न पनि गृहले निर्देशन दिएपछि छाउगोठ भत्काउने अभियानलाई कडाईका साथ अगाडि बढाएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए । कार्यालयको तथ्यांकमा सुर्खेत जिल्लामा करिब १६ सय छाउगोठ छन् ।
प्रजिअ अधिकारीले चौकुने र बराहताल गाउँपालिकामा करिब चार सय र पञ्चपुरी नगरपालिकामा ४ सय छाउगोठ रहेको जानकारी दिए । उनका अनुसार सरोकारवाला सबैको सहकार्यमा सुर्खेतमा यसै आर्थिक वर्षको दोस्रो चौमासिकमा छाउगोठ मुक्त बनाईने लक्ष्य छ ।
प्रतिक्रिया दिनुहोस्