राकम कर्णाली अब नयाँ शहर



सुर्खेत ।

विगत ८ वर्षदेखि अन्यौलमा रहेको दैलेखको आठवीस नगरपालिकाको राकमकर्णाली बजारमा निर्माण गर्न थालिएको नयाँ शहर आयोजनाले गति लिने भएको हो ।

मुआब्जाको बिवाद नमिलेपछि ल्याण्डापोलिंङ्ग मार्फत आयोजना निर्माण गर्ने सहमति भएपछि यो वर्षबाट कामले तीब्रता पाउने आशा स्थानीयले गरेका छन् । मध्ये पहाडी राजमार्गमा पर्ने १० वटा स्थानमा नयाँ शहर निर्माण गर्ने योजना अनुसार दैलेखको राकम कर्णाली छनौट भएको ८ वर्ष पछि जग्गाको समग्र वस्तुस्थिति समावेश गरेर राजपत्रमा सूचना प्रकाशन भैसकेको छ ।

सूचना प्रकाशन पहिलो कार्य भएको र अब अन्य दुई वटा काम सकिएपछि धमाधम पुर्वाधार तर्फ काम अगाडी बढ्ने नयाँ शहर आयोजनाका प्रमुख सुशील रसाईलीले जानकारी दिएका छन् ।

अब जग्गाको बृहत प्लानिङ, सडक निर्माण, मनोरञ्जन पार्क, खानेपानी, विद्युत सेवा, स्वास्थ्य संस्था जस्ता पूर्वाधारहरु कहाँ र कति स्थानमा बनाउने भन्ने बिषयको निश्कर्ष विभागबाटै भएपछि पूर्वाधारको कामहरु सुरु हुने रसाइलीले बताए । आठवीस नगरपालिकाका नगर प्रमुख खड्गराज उपाध्यायले  सरकारले ग्रामिण बस्तिमा स्वास्थ्य र शिक्षालाई प्रभावकारी सेवा प्रदान गर्ने अभियान सँगै एकिकृत बस्ती विकास गरेर पहाडबाट तराईमा बस्ती सर्ने परम्परा रोक्न प्रयास अन्तर्गत रहेको बताए ।

पहाडी जिल्लाहरुमा नयाँ शहर बसाल्ने अभियान थालनी गरेको भएपनि दैलेखको राकमकर्णालीको नयाँ शहर आयोजना भनेकै समयमा सम्पन्न हुन नसकेका कारण समस्या उनको भनाई छ । अब केही बर्षभित्र आयोजना बन्ने आशा पलाएको ल्याण्ड पोलिङ्ग विधिमार्फत नयाँ शहर बसाउने तयारी भएपछि कुल जग्गाको ३० प्रतिशत जग्गा सडक र अन्य पुर्वाधारमा मासिने र बचेको ७० प्रतिशत जग्गा जग्गाधनिलाई नै फिर्ता हुने सहमती उनले जानकारी दिए ।

उनका ल्याण्ड पोलिङ्गको कुरा मिलेपछि कामको जिम्मा लिएका कन्सल्टेन्टहरुले काम सम्पन्न प्रतिवेदन आयोजनामा बुझाई सकेको र आयोजनाले गत असारमै जग्गाको ब्लग प्लान्ट बनाएर मन्त्रालयमा स्वीकृतिका लागि फाईल गएको थियो । सोही अनुसार काम अगाडी बढेको आयोजनाले जानकारी दिएको छ ।

यो वर्ष आयोजना मार्फत १०५ वटा सौर्य बत्ती जडान हुने र २ वटा खानेपानी आयोजना निर्माणका लागि ठेक्का भैसकेको छ । राकम कर्णालीमा नयाँ शहरको काम पुरा भएपछि कर्णाली प्रदेशको महत्वपूर्ण पर्यटकिय स्थल रारा पुगेर फर्कने पर्यटकहरुलाई सहजता हुने छ भने कर्णाली नदीमा जल यात्रा लगायतका लागि आन्तरिक र बाह्य पर्यटकहरुको पनि बृद्धि हुने छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस ९ गते बुधबार