कोहलपुर ।
बाँकेमा आइतबार दिनभर बाक्लो हुस्सु लागेको छ । शिललहर सँगै लागेको हुस्सुका कारण जिल्लाको जनजिवन समेत प्रभावित भएको थियो । जल तथा मौसम विज्ञान विभागको राँझास्थित हावापानी फिल्ड कार्यालयका अनुसार आइतबार नेपालगञ्जको न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १६ डिग्री सेल्सियस
थियो । ‘आइतबार यो वर्षकै सबैभन्दा बाक्लो हुस्सु–कुहिरो बाँकेमा लाग्यो ।’
हावापानी फिल्ड कार्यालयका प्रमुख पलबहादुर विश्वकर्माले भने, ‘जसका कारण विमान सेवा समेत प्रभावित हुन पुग्यो ।’ नेपालगञ्जमा यो वर्षकै सबैभन्दा कम तापक्रम भने शनिबार ८ डिग्री सेल्सियस मापन गरिएको थियो । राँझा विमानस्थलबाट जहाज उडान गर्न कम्तीमा पनि एक हजार ६ सय मिटर भिजिविलिटी चाहिन्छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान विभागका अनुसार बिहान ७ बजे विमानस्थलको भिजिविलिटी कम्तीमा ५० मिटर रहेको थियो ।
बाक्लो हुस्सु–कुहिरोका कारण आइतबार नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान प्रभावित भए । नेपालगञ्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले बाक्लो हुस्सुका कारण आइतबार एउटा पनि जहाज उडान अवतरण नभएको जानकारी दिए । ‘विमानस्थलबाट दैनिक ३० भन्दा बढी विमान उडान हुन्थे’, उनले भने, ‘हिमाली जिल्लाको मौसम त राम्रो थियो । यहाँको मौसम खराब हुँदा सबै फ्लाइडहरु क्यान्सिल भए ।’ विमानस्थलबाट काठमाडौं, हुम्लाको सिमकोट, बाजुराको कोल्टी, डोल्पा, जुम्ला, रारा, अछामको साँफेबगर र रुकुमको सल्लीबजारमा उडान हुने गर्छ । खराब मौसमका कारण नेपाल वायुसेवा निगम, बुद्ध, यति, श्री, सिता एयर लगायतका सबै विमान कम्पनीले उडान रद्द गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्