देशभरका होटल व्यवसायी वीरेन्द्रनगरमा



चेत नारायण पाण्डेय । सुर्खेत ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा होटल व्यवसायी महासंघ नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सुरु भएको छ । शुक्रबार उद्घाटन सत्रमा बोल्दै होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अमृत भुजेलले कर्णालीको पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य भएको बताए । कर्णालीका स्थानीय उत्पादनमा देशभर छरिएर रहेका होटल व्यवसायीलाई जानकारी दिने उद्देश्यले कर्णालीमा अधिवेसन गरिएको उनले दाबी गरे । ‘नेपाल पर्यटन वर्ष सन् २०२० को पुर्व सन्ध्यामा सुर्खेतमा कार्र्यक्रम भएको छ’ उनले भने, ‘कर्णालीमा रहेको क्षेत्रको पर्यटकीय विकास गर्ने सुर्खेतबाट राराको प्रचार गर्ने लक्ष्य रहेको छ ।’

कर्णालीको खस संस्कृति तथा नेपाली भाषाको उद्गम स्थलको रुपमा रहेको कर्णालीको जुम्ला र बिश्वकै उच्च स्थानमा फल्ने मार्सि धानको स्वादसँगै देशभरीका सम्पुर्ण होटल व्यवसायीलाई कर्णालीमा व्यवसाय गर्न चुले निम्तो दिने उनले बताए । उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष प्रकाश शाहीले समग्र कर्णालीको विकासमा टेवा पुग्ने उद्देश्यले राष्ट्रिय अधिवेसन भएको बताए । सरकारले व्यवसायीहरुलाई दोहोरो करको मारमा पारेको भन्दै त्यसका लागि प्रदेश सरकारले उचित सहयोग गर्नुपर्ने उनले बताएका थिए । बैकको ऋण लगेर सञ्चालन गरिएका व्यवसाय धरासाय पार्न सरकार लागि परेको भन्दै उनले सबै संघ संस्थाहरु मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीको राजधानीमा अधिवेशन गरेकोमा होटल व्यवसायीलाई धन्यवाद दिए । कर्णाली हरेक क्षेत्रमा पछाडि परेको भन्दै उनले कर्णालीको विकासका आधार मध्ये होटल व्यवसाय एक भएको भन्दै त्यसको सुरक्षा प्रदेश सरकारले गर्ने प्रतिबद्धता जनाए । ‘कर्णाली सरकारले यस क्षेत्रमा आई व्यवसाय गरेर कर्णाली सरकारलाई कुनै कर नतिरी मुनाफा लैजान आग्रह समेत गरीरहँदा व्यवसायीको रुचि छैन’ मन्त्री ज्वालाले भने, ‘त्यसका लागि के गर्नुपर्ने हो प्रदेश सरकार तयार रहेको छ ।’

  • No tags available
प्रकाशित मिति : २०७६ पुस ५ गते शनिबार