27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

कोहलपुर नगरपालिका च्याउमा आत्मनिर्भर उन्मुख

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस ४, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपपालिका च्याउमा आत्मनिर्भर बन्दै जान थालेको छ । केही वर्षयता यहाँका किसानहरु च्याउ खेती तर्फ आकर्षित हुन थाले पछि कोहलपुर च्याउमा आत्मनिर्भर बन्दै जान थालेको हो । राम्रो आम्दानी हुने भएपछि यहाँका किसानहरु च्याउ खेती तर्फ आकर्षित हुन थालेका हुन् । अहिले कोहलपुर नगरपालिकामा वार्षिक १ हजार ६ सय २० मेट्रिक टन च्याउ आवश्यक छ । तर अहिले वार्षिक १ हजार २ सय मेट्रिक टन च्याउ उच्पादन हुन्छ । कोहलपुर नगरपालिका अन्र्तगत नगर कृषि शाखाले च्याउ खेती विषेश कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । स्थानीय तहबाट तालिम, ज्ञान र सिप पाएसँगै व्यवसायिक च्याउ खेती गर्ने किसानको संख्या बढ्दै गएको हो ।

नगर कृषि शाखाका प्रमुख शेर बहादुर वलीका अनुुसार यहाँ उत्पादित च्याउबाट ६ महिना आत्मनिर्भरताको अवस्था रहेको छ । कोहलपुर क्षेत्रमा उत्पादन हुने च्याउले १ वर्षमा ६ महिना सम्म माग धान्ने गरेको उनले बताए । ‘यहाँका किसानले उत्पादन गरेको च्याउले ६ महिनाको माग धान्छ’ उनले भने, ‘हामी च्याउमा आत्मनिर्भर उन्मुख बन्दै गएका छौ ।’ कृषि शाखाबाट प्रदान गरिने अनुदानबाट किसानहरुले आर्थिक उपार्जन गर्दै गईरहेको कृषि शाखा प्रमुख वलीको भनाई छ । नगर क्षेत्रमा व्यवसायिक खेती गर्ने समुह, सहकारी र व्यक्तिलाई ५० प्रतिशत समेत अनुदान दिने गरिएको छ । गत आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिका भरी कुल ४० क्विन्टल च्याउको बिउ वितरण गरिएको उनी बताउँछन् । ‘कृषि शाखाबाट ३० र एग्रोभेटहरुबाट १० क्विन्टल च्याउको बिउ गत आर्थिक वर्षमा वितरण गरिएको थियो’ कृषि शाखा प्रमुख वलीले भने । कोहलपुर नगरपालिकामा ९८ वटा क्रियाशिल समूह छन्, ती मध्ये ३० वटा समूहले च्याउ खेती गर्ने गरेको उनले जानकारी दिए ।

‘कोहलपुरमा उत्पादित च्याउले १ वर्षमा ६ महिना धान्छ ।’ उनले भने, ‘हामीले अरु भन्दा पनि च्याउ खेतीको लागि बढी नै लगानी गरेका छौ ।’ नगरपालिकाले वर्षेनी किसानहरुलाई च्याउ खेतीको लागि आवश्यक पर्ने प्लाष्टिक, ड्रम लगायतका आवश्यक सामग्री समेत वितरण गर्ने गरेको छ । स्थानीय कृषि बजारमा स्थानीय किसानहरुले उत्पादन गरेका च्याउका परिकारहरु खपत हुने गर्छ । आर्थिक उपार्जन र जिविकोपार्जनका दृष्टिले किसानमुखी देखिएपछि चालु आर्थिक वर्षमा समेत यस कार्यक्रमलाई निरन्तरता दिईएको कृषि शाखाले जनाएको छ । च्याउ खेती अलवा मौैसमी तथा बेमौसमी तरकारी खेती, गह्रासुधार, क्षमता अभिबृद्धि, आर्य स्तर बढाउन, उत्पादन र उपादकत्व बृद्धि लगायतका कार्यक्रम रहेका छन् । बढी जनसंख्या र ठूलो भूगोलका कारण सबै किसानको घरदैलोमा पुग्नको लागि कार्यालय जनशक्ति अभाव झेल्नु परेको शाखा प्रमुख वलीले बताए ।

गत आर्थिक वर्षको भन्दा चालु आवमा बढी बिउ वितरण भएको छ । अहिले सम्म ६० क्विन्टल अनुदानमा बिउ वितरण गरिएको हो । मंसिर पहिलो साता सम्म मात्रै शाखाले ३५ क्विन्टल र एग्रोभेटबाट २५ क्विन्टल च्याउका बिउ वितरण गरिएको थियो । कृषि शाखाका अधिकृत चन्द बहादुर बुढाका अनुसार प्रति व्यक्ति÷ समूहगत रुपमा ३० देखी १ सय प्याकेट बिउ वितरण गरिएको हो । वितरण गरिएको ६० क्विन्टन मध्येबाट १२ मेट्रिक टन उत्पादन हुने उनले बताए । जेठ महिना देखी भदौ महिना सम्म अन्य जिल्लाबाट च्याउ कोहलपुरमा आयात हुने गरेको शाखाले जनाएको छ ।

बेमौसममा कोहलपुरमा सल्यान सुर्खेत तथा दाङ जिल्लाबाट च्याउ आउने गर्दछ । अन्य ६ महिना भने स्थानीय उत्पादनले नै माग धानिरहेको छ । मौसममा जिल्लाभरी च्याउ निर्यात भईरहेको बुढाले जानकारी दिए । नेपालगञ्ज, बैजनाथ र राप्तीसोनारीमा कोहलपुरमा उत्पादन भएको च्याउ निर्यात हुन्छ । चालु आर्थिक वर्षमा गत वर्षको भन्दा बढी लगानी भएकोले उत्पादन बढ्ने र कोहलपुरको माग थप केही महिना धान्ने अवस्थामा पुग्ने अनुमान कृषि शाखाले गरेको छ । केही वर्षमा पुर्ण रुपमा च्याउमा कोहलपुर नगरपालिका आत्मनिर्भर हुने शाखा प्रमुख वलीले बताए ।

प्रकाशित मितिः शुक्रबार, पुस ४, २०७६     10:35:48 AM  |