27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

बाँसगढी र मधुवन उपाधीको लागि भिड्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २७, २०७६  

रावन बिश्वकर्मा, बाँसगढी ।

बाँसगढी र मधुवन नगरपालिका बर्दियाको बढैयातालमा जारी पालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधीका लागि भिड्ने भएका छन् । बिहीबार सम्पन्न सेमिफाइनलमा गुलरिया नगरपालिकालाई २ का विरुद्ध ३ गोल अन्तरले पराजीत गर्दै बाँसगढी नगरपालिका फाइलमा प्रवेश गरेको हो । यसअघि बुधबार भएको खेलमा मधुवन नगरपालिकाले गेरुवा गाउँपालिकालाई ० का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अब बाँसगढी र मधुवन नगरपालिका शनिबार हुने खेलमा उपाधीका लागि भिड्नेछन् । बिहिबार उल्लेख्य दर्शकले खचाखच भरिएको मैदानमा भएको खेलमा दुवै टिमले निर्धारित समयमा गोल गर्न नसकेपछि पेलान्टी सुटआउट गराइएको थियो । पेलान्टी सुटआउटमा बाँसगढीले ३ गोल हान्दै जित हात पार्न सफल भयो । जित हात पार्दै उसले उपाधीको लागि फाइनलको यात्रा तय गरेको हो । बाँसगढी टिमको तर्फबाट उत्कृष्ट खेल प्रर्दशन गर्ने सन्दीप थापालाई म्यान अफ द म्याच घोषणा गरिएको आयोजक टिमका सिद्धान्त थारुले जानकारी दिए ।

बिहीबार प्रतियोगितामा सेमिफाईनलका सबै खेलहरु सकिएको र उपाधीका लागि भोली शनिबार १२ बजे खेल हुने आयोजक कालिका सामुदायिक पुस्तकालय बढैयातालका अध्यक्ष शुशिल चौधरीले बताए । ‘खेलकुद र पर्यटनको प्रबद्र्धनः बर्दियाको समर्पण’ नारा सहित कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बढैयातालको आयोजनामा मंसिर २१ गते देखि सञ्चालन भएको खेलमा बर्दिया ८ वटा पालिकाहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताको बिजेता टिमले १ लाख र उपविजेताले ६० हजार नगद सहित शिल्ड र प्रमाण पत्र पाउने छन् । विजय कन्ट्रक्सन एण्ड विना सप्लार्यस र ऊँ सत्य साई कन्ट्रक्सनको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा बढैयाताल गाउँपालिका, मयुर युवा क्लव श्याउलीबजार र जिल्ला फुटबल संघ बर्दियाले सहकार्य गरेका छन् ।

प्रकाशित मितिः शुक्रबार, मंसिर २७, २०७६     10:16:30 AM  |