पश्चिम क्षेत्रमा नगन्य मात्रामा चिनियाँ पर्यटकहरु पुग्ने गरेका थिए । नेपाल भ्रमण नजिकिदै जाँदा भएको चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ को भ्रमणले यहाँका पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् । अब बाँके बर्दिया लगायतका क्षेत्रमा चिनियाँ पर्यटकहरुको आगमन समेत बढ्ने उनीहरुले आशा राखेका छन् ।
कोहलपुर ।
नेपाल भ्रमण वर्ष सन् २०२० का लागि चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ (समर क्विन) पश्चिम नेपालको भ्रमणको लागि बर्दिया आइपुगेकी छन् । उनी सहितको चिनियाँ पर्यटकको टोली शनिबार बिहान नेपालगञ्ज विमानस्थल हुँदै बर्दिया पुगेको हो । नेपालगञ्ज विमानस्थलमा चिनियाँ सदभावना दूत स्वी छिङसहितको टोलीलाई होमस्टे एशोसिएशनका पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पर्यटन विभाग प्रदेश ५ का अध्यक्ष भिम केसीले स्वागत गरेका थिए । नेपालगञ्ज विमानस्थलबाट टोली बर्दिया बाँसगढीमा रहेको विश्व प्रशिद्ध ऊँ केदारेश्वर धामको अवलोकन गर्न पुगेको थियो ।
त्यहाँ चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ सहितको टोली बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारी लगायतले भव्य स्वागत गरेका थिए । उनले टोलीलाई ऊँ केदारेश्वर धामको बिशेषता र पहिचानका बारेमा जानकारी गराएका थिए । नगर प्रमुख अधिकारीले १ सय ८ फिट अग्लोे जोतिर्लिङ्ग, शिवको मुर्ति, १ सय ८ गौमुखि मुक्तिधारा र धामको विशेषताका बारेमा बताए । सो क्रममा अभिनेत्री स्वी छिङले धामको बारेमा चासो राखेको नगर प्रमुख अधिकारीले जानकारी दिए ।
‘चिनियाँ अभिनेत्रीसहितको टोलीले ऊँ केदारेश्वर धामको बारेमा चासो राख्नुभएको थियो’ उनले भने, ‘यसले पक्कै पनी चिनियाँ पर्यटकहरुलाई आकर्षण गर्न मद्दत पु¥याउनेछ ।’ उनले अभिनेत्रीलाई धामको लोगो सहितको मायाँको चिनो समेत दिएका थिए । चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ सहितको टोलीले बर्दिया राष्ट्रिय निकुञ्जसहित यहाँ अन्य पर्यटकीय स्थलहरुको अवलोकन समेत गर्ने कार्यक्रम रहेको टोलीलाई सहजिकरण गरिरहेका हरिश गौतमले जानकारी दिए । बाँसगढीमा धामको अवलोकन पछि चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ सहितको टोली ठाकुरबाबा नगरपालिकामा पुगेको थियो ।
टोलीलाई भुरीगाउँमा नगर प्रमुख घननारायण श्रेष्ठले स्वागत गरेका थिए । त्यहाँबाट उनीहरुको टोली सतखलुवामा सामुदायिक होमस्टेमा पुगेको थियो । टोलीले त्यहाँ नै बिहान खाना खाएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए । उनीसहितको टोली बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै रहेको होटल टाईगर टप्समा बास बसेको छ । आज चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ सहितको टोलीले बर्दिया निकुञ्जको भ्रमण र त्यहाँका सरोकारवाला निकायहरुसँग छलफल गर्ने तालिका रहेको होमस्टे एशोसिएशनका पूर्व केन्द्रीय अध्यक्ष केसीले जानकारी दिए । अभिनेत्री स्वी छि को भ्रमणले पश्चिम क्षेत्रमा चिनियाँ पर्यटनको संख्ङ्यामा वृद्धि हुने यहाँका पर्यटन व्यवसायीहरुले बताएका छन् ।
‘चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ को भ्रमणले हामी पर्यटन व्यवसायीहरु उत्साहित छौं’ उनले भने, ‘यसले केही भएपनी चिनियाँ नागरीकहरुलाई पश्चिम क्षेत्रमा घुम्न टेवा पु¥याउनेछ ।’ चिनियाँ अभिनेत्री सी छिङलाई गत कार्तिक २ गते नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत नियुक्त गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावनादूत नियुक्त गरेका थिए । अभिनेत्री सी छिङले नेपाल चीनबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै बुद्ध जन्मेको देशले मनाउन लागेको भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा खुसी लागेको बताउँदै आएकी छिन् । ५० वर्षीया स्वी छिङ चीनकी पख्र्यात सेलिब्रेटी हुन् ।
उनका फ्यान फलोअर्स नै १.४ अर्ब छन् । चिनियाँ सामाजिक सञ्जाल वैपोमा पछ्याउनेहरुले उनलाई ‘समर क्विन’ र हन्ड्रेड फ्लावर्स अर्थात सयवटा फूलभन्दा पनि सुन्दर व्यक्तिको उपमा दिने गरेका छन् । सन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’मार्फत् चिनियाँ फिल्मबाट डेब्यू गरेकी सी छिङले ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आइ लभ यू टू’, ‘मिस्टर सिक्स’ लगायत दर्जन बढी चिनियाँ र हलिउड फिल्ममा अभिनय गरेकी छन् ।








प्रतिक्रिया दिनुहोस्