त्रिभुवनको अभिभावक भेला



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको त्रिभुवन माध्यामिक विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिको समयअवधि सकिएकोले अभिभावक भेलाबाट चार जना सदस्य चयन गर्नका लागि अभिभावक भेला गरिएको हो । भेलाको कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी चौधरीले उद्घाटन गरिन् ।

प्रधानाध्यापक देवका बस्नेत थापाले भेलाबाट विद्यालय व्यवस्थापन समितिका लागि चार जना सदस्य मनोनित गर्न नसकेको जानकारी दिइन् । ‘पहिलो चरणको कार्यक्रम लामो भयो’ उनले भनिन्, ‘दोस्रो चरणको कार्यक्रममा प्रवेश गर्न पाइएन् ।’ वक्ताहरुलाई पाँच मिनेट दिँदा ३० मिनेटसम्म लामो भाषण गरेपछि समयको अभावका कारणले विव्यसमा नयाँ सदस्य चयन गर्ने नसकेको उनको भनाई रहेको थियो ।

विद्यालयका शिक्षक गणेश प्रसाद पौडेलले अभिभावकहरु विव्यसमा नयाँ सदस्य चयन गर्नका लागि आएको बताए । ‘अभिभावकहरु भाषण सुन्नका लागि आएका होइनन्’ उनले भने, ‘वक्ताहरुलाई जति छोटो समय दियो त्यतिकै लामो भाषण गरे ।’ अभिभावक आत्तिए उनले थपे, दोस्रो चरणरको बन्दसत्र नै कार्यक्रम चल्न नपाउँदै अभिभावकहरु आफ्नो घरतिर लागेका थिए । दोस्रो चरणको कार्यक्रम नभएपछि आगामी २९ गते फेरी अभिभावक भेला हुने तय गरेको उनको भनाई थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २१ गते शनिबार