29 April 2024  |   सोमवार, बैशाख १७, २०८१

घरेलु हिंसाका घटना पुग्दैनन् न्यायिक समितिसम्म

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २०, २०७६  

कोहलपुर ।

बाँकेमा घरेलु हिंसाका घटना स्थानीय तहहरुमा रहेका न्यायिक समिति सम्म नपुग्ने गरेको पाईएको छ । स्थानीय तह अन्तर्गत रहेका समिति सम्म हिंसाका घटना नपुग्ने गरेको पाईएको हो । कोहलपुर नगरपालिकामा रहेको न्यायिक समितिमा यस्ता प्रकारका घटनाहरु निकै कम आउने गरेका छन् । स्थानीय तहको अदालतको रुपमा रहेको न्यायिक समिति यस्ता प्रकारका मुद्दा दर्ताका निकै कम आउने गरेको कानुन शाखा कोहलपुरले जनाएको छ ।

कानुन शाखाका प्रमुख प्रदिप कुमार रावतका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा जम्मा १६ वटा मुद्दा दर्ता भएका छन् । साउन देखि मंसिर दोस्रो साताको तथ्यांक अनुसार १६ वटा मुद्दा न्यायिक समिति अन्तर्गत कानुन शाखामा दर्ता भएको उनले जानकारी दिए । १६ वटा मध्ये २ वटा घरेलु मुद्दा रहेका छन् । समाजमा महिला हिंसाका घटना हुने गरेको देखिने भएपनि अदालती प्रक्रिया सम्म पुग्न नसकेको उनको भनाई थियो । ‘मुद्दाहरुको संख्यालाई हेर्दा यस्ता घटना निकै कम देखिन्छन्’ उनले भने, ‘घरभित्र हुने हिंसा घर बाहिर आईसकेका छैनन् ।’ ‘बढी महिलाहरु यस्ता हिंसाबाट प्रभावित हुने गरेपनि महिलाहरु आफ्नो समस्या बारे अझै खुल्न सकेका छैनन्’ उनले भने । १० वटा मुद्दा मेलमिलापको माध्यमबाट समाधान गरिएको रावतले बताए ।

उनका अनुसार ४ वटा मुद्दा अहिले पनि प्रक्रियामा रहेका छन् । न्यायिक समितिमा मेलमिलाप हुन नसकेका २ वटा मुद्दा अदालतमा थप प्रक्रियाका लागि पठाईएको उनले जानकारी दिए । सबै भन्दा बढी घर जग्गा, सिमा विवाद र आर्थिक लेनदेनका मुद्दा पर्ने गरेको छन् । न्यायिक समितिमा आउने गरेका मुद्दा मेलमिलापको माध्यामबाट समाधान खोजिने गरेको मेलमिलाप संयोजक मोतीलाल थारु बताउँछन् । उनका अनुसार कूनै पनि घटनाको प्रारम्भिक समस्याको समाधान वडा स्तरमा हुने गरेको छ । नगरपालिकाले त्यसको लागि प्रत्येक वडामा मेलमिलापकर्ता राखेको छ ।

वडा स्तरमा मिल्न नसकेका मुद्दा मात्रै न्यायिक समिति सम्म पुग्ने गरेको उनले जानकारी दिए । ‘प्राय विवाद वडा मै समाधान हुन्छन्’ उनले भने, ‘त्यसैले न्यायिक समिति सम्म कम पुग्छन् ।’ गत आर्थिक वर्षको तुलनामा यस वर्षको पहिलो चौमासिक निकै कम संख्यामा मुद्दा दर्ता भएका छन् । कोहलपुर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिकी संयोजक सञ्जु कुमारी चौधरी समेत मेलमिलाप पहिलो प्राथमिकतामा रहेको बताउँछिन् । उनका अनुसार अहिले सम्म न्यायिक समितिमा आउने गरेका प्राय मुद्दाहरुको मेलमिलापका माध्यमबाटै समाधान गरिएको छ ।

‘अहिले पनि महिलाहरु आफ्नो हिंसाका बारेमा खुल्न सकेको देखिदैन’ उनले भनिन्, ‘त्यसैको कारण महिला हिंसाका घटना न्यायिक समिति पुग्न सकेका छैनन् ।’ दलित तथा सिमान्तकृत समुदायका महिलाहरुमा यस्तो समस्या विकराल रुपमा रहेको न्यायिक समिती संयोजक चौधरीले बताईन् । यस्तै अहिले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाले सचेतनामुलक कार्यक्रम गरिरहेको छ ।

शाखाका सहायक महिला विकास निरीक्षक कोकिला शाहीले महिला हिंसा तथा यौन दुव्यवहार बिरुद्ध छलफल तथा अभिमुखीकरण, सहकारीमा आवद्ध महिलाहरुसँग अन्र्तक्रिया कार्यक्रम गरिएको बताईन् । उनले यस्तै विद्यालय स्तरीय कार्यक्रम, सडक नाटक प्रदर्शन लगायतका गतिविधि अभियानको अवधिमा गरिने जानकारी दिइन् । शाहीका अनुसार शाखा अन्तर्गत नगरपालिका बस्तीहरुमा गएर विभिन्न विषयमा कार्यक्रम गर्ने गरिएको छ ।

प्रकाशित मितिः शुक्रबार, मंसिर २०, २०७६     8:34:45 AM  |