उपभोक्ता र अनुगमन समितिलाई अभिमुखीकरण



रावन बिश्वकर्मा,  बर्दिया

बारबर्दिया नगरपालिकाले योजना सञ्चालनका लागि गठन गरिएका उपभोक्ता समिति र अनुगमन समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण गरिएको छ । नगरपालकाले बिहीबार वडा नम्बर १ र २ मा उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण दिइएको
हो ।

अभिमुखीकरण कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारी तथा बरघरहरुलाई योजना सञ्चालनको लागि सम्भौता गर्ने प्रक्रिया, कार्यान्वयनको चरणबारे जानकारी, अनुगमन, सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई गर्ने प्रक्रिया तथा भूक्तानीको लागि फरफारक गर्ने बेला आवश्यक पर्ने कागजजातको बिषयमा जानकारी दिइएको थियो ।

त्यस्तै वडा स्तरको योजनाको भुक्तानीको लागि सम्पुर्ण प्रक्रिया वडामा मिलाएर लैजानुपर्ने र त्यो कार्य नगरमा गएर दु्रत गतिमा हुने कुरा बारे समेत जानकारी गराईएको थियो । कार्यक्रममा बारबर्दिया प्रमुख दुर्गाबहादुर थारु (कबिर) ले जनसहभागितालाई प्रभावकारी रुपमा परिचालन गर्नुपर्ने बताएका थिए ।

उनले कुनै पनि बिकास निर्माणका कामहरु भए स्थानीय उपभोक्ताहरुले नै उपभोग गर्ने भएकोले जनसहभागिता बढाउन आवश्यक रहेको बताए । नगर प्रमुख थारुले योजनालाई पारदर्शी बनाई उपभोक्ताहरुको विश्वास जित्न पदाधिकारीहरुलाई अनुरोध समेत गरे । आज बारबर्दिया नगरपालिकाको वडा नम्बर ७ र १० मा अभिमूकिकरण कार्यक्रम गरिने नगर प्रवक्ता दुर्गा बहादुर बिश्वकर्माले बताए ।

नगरपालिकाका ११ वडाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण गरिने बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ६ गते शुक्रबार