शुभाकर विश्वकर्मा । कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ गाभर गाउँका स्थानीय परम्परागत सिंगारु नाच संरक्षण अभियानमा जुटेका छन् । मौलिक परम्पराको रुपमा रहेको सिंगारु नाथ संरक्षणमा त्यहाँका स्थानीय सक्रिय भएका हुन् । कर्णाली प्रदेशका विभिन्न जिल्लामा प्रचलित सिंगारु नाच बाँकेमा समेच प्रचलित छ । रुकुम पश्चिमबाट बैजनाथ १, गाभरमा बसाईसराई गरी आएका यूवा र स्थानीयहरुको सक्रियतमा अभियान थालिएको हो । विगत चार वर्षदेखि सिंगारु नाच संरक्षण अभियान थालिएको जनजागरण यूवा क्लबले जनाएको छ । क्लबका अध्यक्ष कृष्ण पौडेलले सिंगो गाउँ कै सक्रियतामा सिंगारु नाच संरक्षण अभियान थालिएको जानकारी दिए । पुराना कला संस्कृतिको जर्गेना गर्ने मुख्य उद्देश्य सहित अभियान थालिएको उनले बताए ।
‘सिंगारु नाच कर्णालीका रुकुम पश्चिम, सल्यान, जाजरकोट र दैलेख जिल्लामा प्रचलित रहेको छ’ उनले भने, ‘रुकुमबाट बसाईसराई गरी यहाँ आएकाहरुको पनि मुख्य संस्कृतिको रुपमा रहेकोले संरक्षणमा जुटेका हौं ।’ नयाँ पुस्ताले संरक्षणले चासो नदिदाँ सिंगारु नाच लोप हुने अवस्थामा रहेको क्लबका अध्यक्ष पौडेलले बताए । ‘यो मौलिक संस्कृतिको रुपमा रहेको छ’ उनले भने, ‘विगत चार वर्षदेखि क्लबले विभिन्न खाले संरक्षणका गतिविधि गर्दै आएको छ ।’ क्लबका सचिव प्रकाश आचार्य हराउन थालेको पुरानो संस्कृतिको संरक्षण र प्रचारप्रसार समेत अहिले काम गरिरहेको बताउँछन् । क्लबले वर्षेनी जनचेनतामुलक कार्यक्रम, मेला महोत्सव र संरक्षणका गतिविधि सञ्चालन गर्दै आईरहेको उनले जानकारी
दिए । क्लबले दशै, तिहार, मेला महोत्सव लगायतका अन्य महत्वपुर्ण अवसरमा परम्परागत सिंगारु नाच देखाउँदै नयाँ पुस्तालाई यसतर्फ प्रेरित गर्ने गरेको छ ।
सिंगारु नाच्दै,गाउँदै पुस्ता बित्यो
महिलाको भेषमा सिंगारिएर समूहमा गाउँदै सिंगारु नाच्ने गरिन्छ । यसमा पुरुषहरु महिलाका पहिरन लगाएर गाउने र नाच्ने गर्दछन् । तर संरक्षण अभावमा यो नाच लोपउन्मुख अवस्थामा पुगेको छ । रुकुम पश्चिम जिल्लाबाट १६ वर्ष अगाडि गाभरमा बसाई सराई गरी आएका टिकाराम जैसीले सिंगारु गाउँदै आएको मात्रै ३० वर्ष पुगिसकेको छ । ७४ वर्षीय उनी अहिले पनि मज्जैले गाउँछन् । सेतै फुलेका जैसीको अहिले पनि जोस र जाँगर यूवा अवस्थाको भन्दा कमि छैन् । उनी भन्छन्, ‘हामी यसलाई लोप हुन दिदैनौ, बाचुञ्जेल सिंगारु लगायतका नाच संरक्षणको अभियान सक्रिय हुन्छौ ।’ जैसीको अघिल्लो पुस्ता समेत सिंगारु गाउँन्थ्यो ।
उनका भाई ६२ वर्षका विष्णु जैसीले आफ्नो संस्कृति संरक्षण गर्नको लागि गाउँका जेष्ठ नागरिक र यूवाहरु एकजुट भएको बताए । सिंगारु नाच्न मादल, झ्याली, नेउर, मर्चंगा र बाँसुरीको प्रयोग हुने उनी बताउँछन् । सिंगारु नाच्नको लागि ४–५ जनाको पुरुषको समूह खडा गरिन्छ । सिंगारु सँगै मयूर, लहरे, र्कुकुटे नाच समेत यूवा र बृद्धबृद्धाहरु मिलेर संरक्षण गरिहेका छन् । बैजनाथ १ गाभरका विखेलाल आचार्यले पनि महिलाको भेषमा सिंगारु नाच्न थालेको २२ वर्ष वितिसकेको छ । ‘महिलाको भेषमा सिंगारु नाच्दा पहिले निकै अप्ठ्यारो लाग्थ्यो’ उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘अहिले भने बानी नै परिसकेको छ ।’ रुमुकेली समाजमा समेत आवद्ध उनी अहिले पछिल्लो पुस्ताका यूवाहरुलाई सिंगारु नाच सिकाउदै आएका छन् । उनी पनि सिंगारु संरक्षण अभियानका एक महत्वपुर्ण सदस्य हुन् ।
भ्रमण वर्षलाई सघाउँछौ
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२० लाई सघाउनको लागि यूवा क्लब सक्रिय हुने भएको छ । स्थानीय संस्कृतिको जर्गेना गर्नुका साथै गाभर गाउँ घुम्ने आउने पर्यटकलाई लक्षित गरी विभिन्न कार्यक्रमको आयोजना गरिने क्लबका अध्यक्ष पौडेलले जानकारी दिए । अभियान अन्तर्गत लोक गायकहरुको उपस्थितिमा साँस्कृतिक कार्यक्रम, स्थानीय नाच र अन्य संस्कृतिको प्रदर्शन लगायतका कार्यक्रम हुने भएका हुन् । यस्तै स्थानीय बाजा प्रदर्शनीको समेत कार्यक्रम रहेको क्लबले जनाएको छ । भ्रमण वर्ष सुरु भएपछि स्थानीय सरकारसँगको सहकार्यमा जिल्लामा विभिन्न कार्यक्रम आयोजना गर्ने लक्ष्य क्लबको छ ।








प्रतिक्रिया दिनुहोस्