चेत नारायण पाण्डेय । सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेश सरकारले वायु सेवा कम्पनी खोल्ने बताएका छन् । १० दिने तिब्बत भ्रमण सकेर स्वदेश फर्केपछि बिहीबार सुर्खेतमा भएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले अब कर्णालीको आफ्नै वायुसेवा कम्पनी हुने बताएका हुन् । तिब्बत सरकारले हिमालयसंग जोडिएका बिभिन्न देशहरुको सहभागितामा बिआरआइ सम्बन्धि ३ दिने कार्यक्रमको आयोजना गरेको थियो ।
सोही कार्यक्रममा मुख्यमन्त्रीले शाहीले समेत सहभागिता जनाएका थिए । भ्रमण निकै फलदायी भएको समेत मुख्यमन्त्री शाहीले जिकिर गरेका छन् । तिब्बत सरकार संग सहकार्यमा कर्णालीको समग्र विकासमा सहकार्य गरिने उनको भनाई थियो । प्रदेश राजधानी सुर्खेतलाई विकसित सहर बनाउनको लागि सुर्खेतको रिङरोड र सुर्खेतदेखि बर्दियासम्मको टनेल मार्गको निःशुल्क सर्वे गरिदिन त्यहाँको सरकारसंग अनुरोध गरेको जानकारी दिए । तिब्बतको सान्ताउ प्रदेश विश्वकै मोडल विकास भएको र त्यहाँको चाइना इन्जिनियरिङ कम्पनी कर्णालीमा बिकास गर्न सहमत भएको बताएका छन ।
‘समुन्द्रमाथि बनाईएको सबैभन्दा लामो सडक, समुन्द्र भित्र टनेल बनाएर सडक बनाएको रैछ’ उनले भने,‘त्यहाँको विकास मोडेल अनुरुप कर्णालीको विकास गरिन्छ ।’ यो कर्णाली प्रदेशमा एकिकृत बस्ती विकास आवश्यक रहेकोमा उनले जोड दिएका छन् । संघीय सरकारले त्यसको अनुमति दिए र कसरी, कुन मोडलमा काम गर्ने भन्ने कुराको वातावरण बन्यो भने त्यहाँको सरकारले आफ्नो अनुभव सहित हाम्रो प्रदेशमा काम गर्ने इच्छा देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्