16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

प्रदेश नं. ५ का सबै स्थानीय तहमा वाणिज्य बैंक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक ४, २०७६  

कोहलपुर ।

आम जनताको वित्तीय पहुँचमा प्रदेश नं ५ शीर्ष स्थानमा रहेको छ । नयाँ संविधानअनुसार स्थापित सात प्रदेश मध्ये प्रदेश नं ५ का सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा खुलेका छन् । स्थानीय तहको निर्वाचनका क्रममा ‘गाँउ–गाँउमा सिंहदरबार’ को नारा दिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतका राजनीतिक दलले जनतासँग गरेको प्रतिबद्धताअनुसार नै बैंक तथा वित्तीय संस्थाका शाखा खोल्न सहजीकरण गरेका छन् । केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको ‘वित्तीय पहुँच विषयक’ प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न र उनीहरूलाई सहजीकरण गर्न प्रदेश नं ५ अग्रस्थानमा रहेको उल्लेख गरेको छ ।

कूल ७५३ स्थानीय तहमध्ये हालसम्म कूल ७३९ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा खुलेका छन् । बैंकका अनुसार २०७५ असार मसान्तसम्म कूल ६३१ र २०७४ असार मसान्तसम्ममा २९६ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुलेका थिए । विवरणअनुसार २०७६ असोज महिनासम्म प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । कूल १०९ स्थानीय तहमध्ये सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा खुली स्थानीय सेवाग्राहीलाई बैंकिङ सेवा पु¥याएका छन् । बैंकका अनुसार प्रदेश नं १ को कूल १३७ स्थानीय तहमध्ये १३६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । सो प्रदेशको एक स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा खुल्न बाँकी रहेको छ । यस्तै प्रदेश नं २ को १३६ स्थानीय तहमध्ये १३४ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

सो प्रदेशका दुई स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा स्थापना हुन बाँकी रहेको छ । प्रदेश नं ३ को पनि दुई स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सो प्रदेशका कूल ११९ स्थानीय तहमध्ये ११७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये एक स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा स्थापना हुन बाँकी रहेको छ । कर्णालीका कूल ७९ स्थानीय तहमध्ये ७७ स्थानीय तहमा बैंकका शाखा खुल्दा दुई स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशको कूल ८८ स्थानीय तहमध्ये ८२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्दा छ स्थानीय तहमा शाखा स्थापना हुन बाँकी रहेका छन् ।

कर्णाली प्रदेशका १७ लाख ५५ हजार ६२ जनसङ्ख्यालाई कूल ३५४ बैंक तथा वित्तीय संस्थाका शाखाले सेवा दिएका छन् । प्रतिशाखा जनसङ्ख्याको आधारमा हेर्दा एक बैंक तथा वित्तीय संस्थाले कूल चार हजार ९५८ जनालाई सेवा दिनुपर्ने अवस्था रहेको छ । यस्तै सुदूरपश्चिमका चार हजार ४०९ जनालाई एक बैंक तथा वित्तीय संस्थाका शाखाले सेवा दिएको छ । सो प्रदेशका वित्तीय संस्थाका शाखा सङ्ख्या ६४७ रहेका छन् ।

प्रकाशित मितिः सोमवार, कार्तिक ४, २०७६     9:05:39 AM  |