महिला सहकारीले बेचे दुई करोडका खसीबोका



दाङ ।

नेपाली हिन्दुहरुको महान् पर्व बडादशैंँका अवसरमा दाङका ६ महिला सहकारीले करीब दुई करोड रुपैयाँँका खसीबोका उत्पादन गरेर बिक्री गरेका छन् । यस वर्षको दशैँमा सबैभन्दा बढी लमही नगरपालिका ९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले ९० लाख ४१ हजार रुपैयाँमूल्यका एक हजार ५३० खसीबोका बिक्री गरेको छ । सहकारी संस्थाका अध्यक्ष देवीमाया थापाले सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका एकमुष्ट सङ्कलन गरेर सहकारीमार्फत नै व्यापारीलाई बिक्री गरिएको बताइन् । उनले सहकारीले उत्पादन गरेका खसीबोका थोरै मात्र जिल्लामा खपत भएको र अन्य सबै जिल्ला बाहिर एवम् राजधानी पठाइएको जानकारी दिए ।

उनका अनुसार सहकारीले यस वर्ष करीब तीन हजार पाँच सय खसीबोका बिक्री गर्ने लक्ष्य राखेको छ । यसैगरी लमही नगरपालिका ८ सतबरियामा रहेको नीलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाले ४५ लाख ४४ हजार रुपैयाँ मूल्य बराबरको खसीबोका दशैँमा बिक्री गरेको जनाएको छ । सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका ८ सय ७६ खसीबोका दशैँमा बिक्री गरिएको हो । यस वर्ष करीब दुई हजार ८ सय वटा खसीबोका सहकारीले बिक्री गर्ने लक्ष्य लिएको सहकारीका अध्यक्ष पुनम घर्तीले जानकारी दिइन् । यस्तै दीपन सहकारी संस्थाले पनि ८७६ खसीबोका रु २८ लाख ९६ हजारमा बिक्री गरेको छ । घोराही उपमहानगरपालिका १३ मा रहेको ज्यामिरे महिला सहकारीले पनि ४६७ खसीबोका रु १४ लाख ८०९ मा बिक्री गरेको छ । समुन्नति सामाजिक उद्यमी महिला सहकारीले ८९६ खसीबोका १५ लाख ५६ हजारमा बिक्री गरेको छ ।

सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका सहकारीका सहजकर्तामार्फत घरघरमा पुगेर उनीहरुकै अगाडि तौलिएर बेच्ने गरिएको सहकारी सहजकर्ता पार्वती बस्नेतले जानकारी दिइन् । महिलालाई उत्पादन र उद्यमसँग जोड्ने उद्देश्यले दाङसहित प्युठान र सल्यानमा पनि ग्रामीण महिला उत्थान केन्द्रले महिला सहकारी संस्था स्थापना गरेको छ । केन्द्रद्वारा सञ्चालित पशु वस्तुको मूल्य शृङ्खलामा आधारित साना किसान परियोजनाका कार्यक्रम संयोजक भीमकान्त चौधरीले तीन जिल्लाका १२ सहकारीले दशैँमा मात्रै आठ हजार ८५० खसीबोका बिक्री गरेको बताए । उनका अनुसार दाङका छ, प्युठानका तीन र सल्यानका तीन सहकारीले तीन करोड मूल्य बरावरको खसीबोका बिक्री गरेका हुन् । ती तीन जिल्लामा दुई करोड ९८ लाख ४६ हजार ९८१ बराबरको खसीबोका बिक्री गरिएको हो । सहकारीमा महिलाले २५ किलोभन्दा माथि जिउँदो खसी ५३५ प्रतिकिलो, २० देखि २५ किलोसम्मको रु ५१० प्रतिकिलो र बोका २० किलोदेखि माथि ५१० प्रतिकिलोमा घरैबाट बिक्री गरेका थिए ।

अहिले जिल्लामा करीब दर्जन बढी महिला उद्यमी सहकारी संस्थाले सहकारी सदस्यमार्फत खसीबोका, कुखुरा, हाँस र दूध उत्पादनको काम गरिरहेका छन् । महिला उत्थान केन्द्रको मातहतमा रहेका ती सहकारी एउटामा कम्तीमा ५०० देखि एक हजारसम्म सदस्य छन् । उनीहरु उत्पादनको काममा सक्रिय छन्। तिनै सहकारीले अहिले जिल्लामा खसीबोकाको माग धानी राजधानीसम्म पठाउने काम गरिरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज २८ गते मंगलबार