29 April 2024  |   सोमवार, बैशाख १७, २०८१

हरियाली बन्दै बाँसगढी बजार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २८, २०७६  

रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया ।

पुर्व पश्चिम राजमार्गमा पर्ने बर्दियाको बाँसगढी बजार पछिल्लो समय हरियाली बन्दै जान थालेको छ । जिल्लाको दोस्रो ठूलो व्यापारीक केन्द्रको रुपमा रहेको बाँसगढी बजार क्षेत्रमा हरियाली छाइरहेको हो । जनप्रतिनिधी आएपछि बाँसगढी नगरपालिकाले रोपेका विभिन्न जातका विरुवाहरु हुर्किदै गएपछि बजारमा समेत हरियाली छाउन थालेको छ । बाँसगढी बजार क्षेत्रमा रोपिएका २ सय ४९ वटा विरुवा अहिले हुर्किएर ठुला र हरिया भएका छन् ।

नगरपालिकाले बाँसगढी क्षेत्रमा रहेका अव्यवस्थित घर टहराहरु हटाउनुका साथै बजार क्षेत्रमा रहेका रुखहरु पनि कटान गरेको थियो । बजारलाई थप व्यवस्थित र फराकिलो बनाउने उद्वेश्यका साथ बजार क्षेत्रमा रहेका रुखहरु कटान गरिएपछि बाँसगढी नगरपालिकाले निकै आलोचना खेप्नु परेको थियो । तर अहिले बजारको दायाँबायाँ रुख हुर्किन थालेपछि बजार थप सुन्दर देखिन थालेको स्थानीयहरु बताउँछन् ।

बजार क्षेत्रमा व्यवस्थित रुपमा विरुवाहरु रोपिएको कारण अहिले बजारमा हरिया विरुवाहरुको लस्करहरु देखिन थालेको व्यवसायी नारायण थापाले बताए । ‘बजार क्षेत्रमा रोपिएका विरुवाहरु हुर्किन थालेकाले बजार थप सुन्दर देखिन थालेको छ’ उनले भने,‘ हरियाली बन्दै जान थालेका विरुवाहरुलाई जोगाउन सके बजार हरियालीको साथै सुन्दर देखिनेछ ।’ स्थानीयहरु नगरपालिकाको विरुवा रोप्ने अभियानलाई सकारात्मक रुपमा लिइरहेका छन् । बाँसगढी नगरपालिकाको रुख रोप्ने कदम सकारात्मक रहेको नगर स्तरिय युवा सञ्जालका संयोजक एकनारायण अधिकारीले बताए ।

‘रुखहरु फडानी गरी व्यवस्थित रुख रोपिनु राम्रो काम हो तर फेरी पनि फोर लाईन सडक बिस्तार योजनाले ति रुखहरु फेरी पनि फाल्ने होकी भन्ने हामीलाई चिन्ता छ’ उनले भने,‘ यस्तो भए फेरी बाँसगढी बजार क्षेत्र उजाड त देखिने छैन ?’ बाँसगढी उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष पुष्प बराल अव्यवस्थित रुखहरु कटान गरि लाईन बद्ध रुपमा विरुवा रोपिनुले बजारको स्वरुप फेरिएको बताउछन् । बजार क्षेत्रमा रोपिएका केही विरुवाहरु मासिएकाले थप संरक्षणको लागि सबैले ध्यान दिनु पर्ने आवश्यकता उनले औल्याए ।

बजारका विभिन्न स्थानहरुमा अव्यवस्थित रहेका रुखहरुलाई फडानी गरी व्यवस्थित रुपमा रोपिएको विरुवाले बजारको थप सुन्दरता थपिएको बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंह थारुले बताए । ‘राजमार्ग छेउछाउमा पानी पर्दा हिलाम्य हुने र घाम लाग्दा धुलोले सताउने समस्या छ’ उनले भने, ‘तर बाँसगढी बजार क्षेत्रमा फोरलाईन सडक विस्तार हुने भन्ने सुनिएको छ । सडक व्यवस्थित भए बाँसगढी बजार अझै थप सुन्दर र व्यवस्थित हुनेछ ।’ उनले बाँसगढी बजारलाई थप व्यवस्थित बनाउन स्मार्ट प्रतिक्षालयको लागि केही कम्पनीहरुसँग कुरा भइरहेको जानकारी दिए । बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले नगरपालिकालाई हरित स्थानीय तहको रुपमा विकास गरिने बताए ।

‘नगरपालिकाको प्रमुख बजार क्षेत्र बाँसगढीलाई हरियाली बनाउन कुनै कमी हुन दिदैनौं’ उनले भने, ‘सबै सँग सहकार्य र समन्वय गरेर बजारलाई व्यवस्थित र सुन्दर बनाउनेछौं ।’ बाँसगढी नगरपालीकाका उपप्रमुख सुष्मा चौधरीले बाँसगढी बजारलाई थप व्यवस्थित बनाउन २ किलोमिटर फोरलाईन सडकको लागि ६ करोड बजेट विनियोजन गरिएको बताइन् । उनका अनुसार ६ करोड बजेटमा ऊँ केदारेश्वर धाम देखि मिलन चोक सम्म करिब २ किलोमिटर फोरलाईन सडक विस्तार गर्ने योजना रहेको छ । बाँसगढी नगरपालिकाले बजार क्षेत्रमा रोपिएका विरुवाहरुलाई संरक्षणको लागि तारबार गर्ने योजना बनाएको उनले जानकारी दिइन् ।

‘बाँसगढी बजारको मुख्य चोकमा बुटवल र कोहलपुर जस्तो व्यवस्थित गोलपार्क बनाउने योजनामा छौं’ नगर उपप्रमुख चौधरीले भनिन्,‘यस योजनालाई हामी चाँडै नै पूरा रुप दिनेछौं ।’ नगरपालिकाले प्रति विरुवा ४ सयका दरले ९९ हजार ६ सय लागतमा २ सय ४९ वटा छतिवनका विरुवा बजार क्षेत्रमा रोपेको थियो । बाँसगढी नगरपालिकाले विरुवाहरु हुर्किन लागेसँगै बजार क्षेत्रमा व्यवस्थित प्रतिक्षालय र गोलपार्क निर्माण गर्ने योजना समेत बनाएको छ । त्यसका लागि तयारी समेत थालिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमरराज खत्रीले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, अशोज २८, २०७६     8:12:04 AM  |