पर्यटकिय स्थल महाबु जाने सडक स्तरउन्नती गरिदै



चेत नारायण पाण्डेय । सुर्खेत ।

दैलेख र कालिकोटको सिमानामा पर्ने समुन्द्र सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा रहेको महाबुमा कच्चि सडक पुगेको छ । पर्यटकिय गन्तब्य मानिएको कच्चि सडक चालु आर्थिक वर्षबाट स्तरउन्नती गरिने भएको छ । संघिय सरकार, प्रदेश सरकार तथा प्रतिनिधि सभाका सदस्य रविन्द्रराज शर्माको सांसद विकास कोषबाट केहि रकम छुट्टाएर सडक स्तरउन्नती गर्न लागिएको हो । सडकको स्तरोन्नती भए आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्ने सांसद शर्माले बताए । उनका अनुसार कर्णाली राजमार्गको जोखिम र लामो यात्राको दुरी समेत घट्नेछ ।

सहज यातायात सुविधा प्रदान गर्नको लागि समुन्द्री सतहदेखि ३८ सय मिटर उचाईमा रहेको पर्यटकिय स्थलमा सडक निर्माणको सुरुवात बिगत दश वर्षदेखि गरिएको थियो । तत्कालिन जिल्ला विकास समिति मार्फत सञ्चालन भएको ग्रामिण पहुँच कार्यक्रम अन्तर्गत दैलेख सदरमुकाम देखि महावु सम्मको ४२ किलोमिटर सडक निर्माण कार्यका लागि करिव १० करोड बढी रकम खर्च भैसकेको छ । अहिले कच्चि सडकमार्फत दैलेख देखि कालिकोटको गाल्जे सम्म साना जीप र ट्याक्टरहरु आवतजावत गर्ने गरेको जिल्ला समन्वय समिती दैलेखले जनाएको छ । कर्णाली प्रदेशको सुर्खेत दैलेख सदरमुकाम महावु लेक कालिकोट जुम्ला हुम्ला मुगु हुँदै चीनको हिल्सा नाकासम्म जोड्ने त्रिदेशिय सडककोे स्तरउन्नतीको लागि नेपाल सरकारले गत आर्थिक वर्षदेखि पहिलो प्राथमिकतामा राखेको थियो ।

चालु आर्थिक वर्षमा विनियोजन गरिएको ५२ करोड रुपैयाँले दैलेखको काँडाचौरबाट सडक स्तरउन्नतीको काम सुरु गरीने सांसद शर्माले बताए । उनका अनुसार दशै लगत्तै सरकारले ठेक्का प्रक्रिया सुरु गर्नेछ । महावु सडकको स्तरोन्नती भए ४ हजार २ सय मिटर अग्लो स्थानमा रहेको धार्मिक पर्यटकिय क्षेत्र महावु धामको सुन्दरता हेर्न जानको लागि आन्तरीक तथा बाह्य पर्यटकहरुलाई सहज हुनेछ ।

हरियाली फाँट भएकोले पाटनमा भेडा चरन सँगै बिभिन्न जातका जडिबुटीहरुको उत्पादनबाट स्थानीयले मनग्य आम्दानी लिन समेत सक्नेछन् । सडकको स्तरोन्नती हुने भएपछि आफुहरु उत्साहित भएको स्थानीय प्रेम मगरले बताए । ‘कच्चि सडक र धेरैजसो रातो माटो भएकोले सामान्य पानी पर्दा पनि सवारी साधनहरु चिप्लने समस्या थियो’ उनले भने, ‘अब सडक स्तरउन्नती भएपछि केही भएपनी कष्टकर यात्रा गर्नुपर्ने बाध्यता हट्नेछ ।’ सुर्खेतको विरेन्द्रनगरबाट दैलेख सदरमुकाम महावु, कालिकोटको गाल्जे हुँदै जुम्ला सडक जोड्न सके अहिले कर्णाली राजमार्गको जोखिम यात्रा न्यूनिकरण हुनुको साथै ७९ किलोमिटर सडक छोटो हुने बताइन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज ६ गते सोमबार