कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ को कार्यालय सँगै रहेको मुख्य सडकको पिच वर्षदिन नपुग्दै उप्किएको छ । वडा कार्यालय हुँदै निर्माण गरिएको सडकको पिच वर्षदिन नपुग्दै उप्किदा सवारी साधन आवतजावतमा समस्या भइरहेको हो । वडा कार्यालय देखी १०–१५ मिटरको सडकमा पिच उप्किएर पानी जम्ने गरेको छ । भर्खरै गरिएको पिच उप्किएर सडकमा खाल्डाखुल्डी हुँदा सवारी साधन तथा स्थानीयहरुलाई आवतजावतमा समस्या भइरहेको छ । उक्त सडक खण्डका अन्य विभिन्न स्थानहरुको हालत समेत पिच भत्किदा यस्तै रहेको छ । वडा कार्यालयसँगैको मुख्य सडकको विभिन्न स्थानमा रहेका खाल्डाखुल्डी, जमेको पानी र अव्यवस्थित ढलका कारण सडक अस्तव्यस्त बनेको स्थानीयबासीले बताएका छन् ।
गुणस्तरहीन सडकका ठाउँ–ठाउँमा पिच उप्किदा पैदल तथा ठुला, साना सवारी साधनमा आवातजावत गर्दा निकै मर्का हुने गरेको उनीहरु बताउँछन् । वडा अध्यक्ष देखी वडाका जनप्रतिनिधिहरु यहीबाट भएर आउजाउ गर्ने भएपनि खासै चासो नदेखाएको स्थानीयबासीको गुनासो रहेको छ । वडा कार्यालय नजिकै व्यवसाय गर्दै आएका स्थानीय सन्त बहादुर खत्रीले जनप्रतिनिधिहरु सुविधा भोगी भएको र जनताको समस्या समाधानमा ध्यान नदिएको बताए । ‘हामी जस्ता सयांै जनालाई साँझ बिहान के खाने के लाउने चिन्ता छ’ उनले भने, ‘हामीले भनेका कोले मान्छ र यहाँ आफु हिड्ने बाटो मै भएको समस्या समाधानको लागि पहल गर्दैनन् ।’ जनताको भोटले चुनाव जितेर आएका व्यक्तिले जनताको समस्या समाधानको लागि सक्रियता नदेखाएको उनको भनाई छ । स्थानीयबासी खत्रीले ग्रामिण क्षेत्रका नागरिकका समस्या बुझ्न कसैले पनी चासो देखाएका छैनन् ।
यसलाई कोहलपुर नगरपालिकाले आफ्नो गौरवको आयोजनाको रुपमा राखेर बजेट बिनियोजन गरेको थियो । वडा कार्यालयले आफ्नै गौरवको आयोजनामा राखेर निर्माण गरेको सडकको पिच गुणस्तरहिन भएको स्थानीयबासीहरुले बताउँदै आएका छन् । उक्त सडक उपभोक्ता समितिका अध्यक्ष दल बहादुर थापाले गौरवको आयोजनाको रुपमा २०७४ फागुन ३ गतेबाट सडक निर्माण सुरु गरिएको जानकारी दिए । उनका अनुसार सडक उपभोक्ता समितिको अगुवाईमा ३ सय १९ मिटर सडक पिच गरिएको हो । ‘बीचमा ४९ मिटर नम्बरी जग्गामा विवाद भएपछि केही समय निर्माणको काम रोकिएको थियो ।’ उपभोक्ता समितिका अध्यक्ष थापाले भने,‘पछि उक्त विवाद मिलाएर काम थालिएपछि २०७५ असार महिनामा सडकको पिच गर्ने काम सम्पन्न भयो ।’ वडा कार्यालयको कुल २३ लाख रुपैयाँको लागतमा उक्त सडकको कालोपत्रे गरिएको हो ।
तर कालोपत्रे भएको केही महिनामा नै सडक भत्किन सुरु भएको नाम नबताउँने सर्तमा एक स्थानीय जानकारी दिए । ‘सडकमा कालोपत्रे मापदण्ड विपरित बनेको छ’ उनले भने, ‘सडक निर्माण सम्पन्न भएको तीन महिना हुँदै कालोपत्रे उप्किन थालेको थियो ।’ सडक निर्माण उपभोक्ता समितिका अध्यक्षले थापाले भने कालोपत्रे मापदण्ड अनुसार नै गरिएको दाबी गरे । ‘सडक स्तरीय नै बनेको हो’ उनले भने, ‘छोटो समय मै जथाभावि ठूला सवारी साधन चलाउने र स्थानीयको कमजोरीका कारण यस्तो समस्या आयो ।’ अहिले बिग्रे भत्केको नगरपालिकाको जिम्मामा हुने अध्यक्ष थापाको भनाई छ । यता, कोहलपुर नगरपालिका वडा नम्बर १४ का अध्यक्ष टेकचन हरिजनले वडा कार्यालयको गौरबको योजनाको रुपमा रहेको मुख्य सडकमा पिच उप्किएको स्वीकार गरे ।
‘हो विभिन्न स्थानमा पिच उप्किएको छ’ उनले भने, ‘उपभोक्ता समिति मार्फत सडक बनाईएको यस्तो समस्या आएको हो ।’ सडकका विभिन्न स्थानमा उप्किएको पिचमा पुनः निर्माण गर्नको लागि पहल गरिने वडा अध्यक्ष हरिजनले जानकारी दिए । यस्तै कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरीले यस बारेमा अनुगमन गरिने बताएकी छन् । अनुगमन समिति संयोजक समेत रहेकी उनले अनुगमन नै नगरी कसरी भुक्तानी दिइयो भन्ने मिसन टुडेको प्रश्नमा यसबारे आफुलाई अहिले थाहा नभएको भन्दै बुझेर मात्र जानकारी दिन सकिने बताइन् ।