19 September 2021  |   आइतवार, अशोज ३, २०७८

आज रझेना स्वास्थ्यचौकीमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४  

मिसन समाचारदाता कोहलपुर, ०८ कार्तिक/ कोहलपुर नगरपालिकाको कार्ययोजना अनुसार आज (बुधबार) कोहलपुर नगरपालिका–३ मदनचोक स्थित रझेना स्वास्थ्य चौकीमा जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । कोहलपुुर नगरपालिका वडा नम्बर ३ र ४ का ७० वर्ष उमेर पूरा भएका वृद्धवृद्धाहरुका लागि सो शिविर आयोजना गरिएको कोहलपुर नगरकार्यपालिकाका प्रवक्ता माधव रिजालले जानकारी दिए ।
विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर नगरपालिकाका १५ वटै वडाहरुमा सञ्चालन गरिरेहेको कोहलपुर नगरपालिकाले यसअघि वडा नं.१, २, १०, ११, १२ र १३ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिसकेको छ । १५ वटै वडाहरुमा गरिने सो शिविरमा यसअघि १०५ वर्ष उमेरका जेष्ठ नागरिकले समेत स्वास्थ्य लाभ लिइसकेका छन् ।
नगरपालिकाले ७० वर्ष उमेरभन्दा माथिका जेष्ठ नागरिकहरुलाई आफ्नो नागरिकता साथमा लिई शिविरमा स्वास्थ्य लाभ लिन आग्रह समेत गरेको प्रवक्ता रिजालले बताए । शिविर बिहान १० बजेदेखि रझेना स्वास्थ्य चौकीमा शुरु हुनेछ ।

प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४     1:29:45 PM  |