नेपालगञ्ज ।
प्रदेश नम्बर ५ का आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी ‘सोनाम’ ले हिउँदे अधिवेशनबाट राजधानीको टुङ्गो लाग्ने बताएका छन् । बाँकेको नेपालगञ्जमा बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रदेशको स्थायी राजधानी आउँदो हिउँदे अधिवेशनबाट टुङ्गो लाग्ने बताएका हुन् । प्रदेशको स्थायी राजधानी कहाँ बनाउने भन्ने बारे आउँदो हिउँदे अधिवेशनले टुङ्गो लगाउने बताउँदै मन्त्री सोनामले दिर्घकालिन रुपमा ठुला पूर्वाधार बनाउन मिल्ने ठाउँमा प्रदेशको राजधानी तोकिने स्पष्ट पारे ।
‘राजधानीको लागि गतबर्ष नै सबै जिल्लाहरुमा पुगेर सुझाव संकलन गर्ने काम सकिएको छ’ उनले भने, ‘सबैलाई पायक पर्नेगरी नै हामीले स्थायी राजधानीको टुङ्गो लगाउँछौं ।’ स्थायी राजधानीका लागि व्यवस्थित ठूला पुर्वाधार बनाउन मिल्ने ठाउँमा मात्र प्रदेशको राजधानी तोकिने मन्त्री सोनामले जनाउ दिए । ‘राजधानी सुरक्षा, भुकम्प, बाढी पहिरो लगायतका हिसाबले सुरक्षित हुने स्थानमा हुनुपर्छ’ उनले भने, ‘सरकारले गठन गरेको प्राविधिक टोलीले अहिले काम गरिरहेको छ त्यसले ल्याउने सुझावका आधारमा स्थायी राजधानी तोकिने छ ।’ कृषि र पर्यटनको विकासलाई प्रदेश सरकारले महत्वका साथ कार्ययोजना बनाएको उल्लेख गर्दै मन्त्री सोनामले बाँके, बर्दियालाई महत्वका साथ हेरिएको जानकारी दिए ।
प्रदेशको लुम्बिनी घुम्न आएका पर्यटक बाँके र बर्दियासम्म आउने वातावरण बनाउने रणनीति आफुहरुले बनाएको भन्दै उनले त्यसको लागि विभिन्न चरणमा छलफल भइसकेको दाबी गरे । मन्त्री सोनामले प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि बाँके र बर्दियालाई प्राथमिकतामा राखेको जानकारी दिए । ‘औद्योगिक हवका रुपमा रहेको बाँके र बर्दियालाई शैक्षिक हब बनाउनका लागि प्रदेश विश्वविद्यालय बनाउन आवश्यक देखिन्छ’ उनले भने, ‘बाँके र बर्दियाका मात्र नभएर छिमेकी प्रदेशका विद्यार्थीहरुलाई समेत आकर्षण गर्न सकिन्छ ।’ मन्त्री सोनामका अनुसार अहिले प्रदेश सरकारमा विश्वविद्यालय कहाँ बनाउने भन्ने बिषयमा छलफल भइरहेको छ । विश्वविद्यालय जस्ता ठुला संरचना बनाउन जग्गाको समस्या भएको बताउँदै उनले जग्गा प्राप्त भएको खण्डमा बाँके र बर्दियामा विश्वविद्यालय बन्न सक्ने तर्फ संकेत गरे ।