सुर्खेत ।
तोकिएको सेवा सुविधा नपाएको भन्दै सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था श्रमिक ट्रेड यूनियनमा आबद्ध मजदुरहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । आफ्नो सेवा सुविधा तथा हकहितका लागि सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था कार्यालय प्रमुखले कुनै वास्था नगरेको भन्दै मजदुरले आन्दोलन गर्नुपरेको बताएका छन् । मजदुरको अधिकार कार्यान्वयन तथा सेवा सुविधा बृद्धितर्फ कार्यालय प्रमुख बाधक बनेको उनीहरुको आरोप छ ।
मजदुरले काम गरेको पारिश्रमिक समेत नियमित नपाएको बताएका छन् । एक प्रेस विज्ञप्ती जारीगर्दैउनीहरुले आफ्नो माग सम्बोधनका लागि चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् । श्रमिक ट्रेड यूनियनका अध्यक्ष गणेशमान खनालद्धारा हस्ताक्षरीत विज्ञप्तीमा कार्यालय प्रमुखलाई श्रमिक कर्मचारीहरुको ब्यवस्थापन र कर्मचारी विरोधी भएकोभन्दै तत्काल कारवाही गर्न माग गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘शान्तीपुर्ण आन्दोलनबाट हाम्रो माग सुनुवाई नभएपछि चरणबद्ध आन्दोलनमा उत्रिनु परेको हो ।’ आइतबारबाट मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । जसअनुसार खानेपानी स्किम नम्बर चार, पाँच र नौ तथा उपत्यका खानेपानी उपभोक्ता संस्थाका कार्यलय प्रमुखविरुद्ध नाराबाजी गर्ने, कालो पट्टी बाँध्ने, धर्ना दिने, सेवा बन्दगरी रिले अनसन बस्ने जस्ता आन्दोलनका कार्यक्रम उल्लेख छन् ।
प्रतिक्रिया दिनुहोस्