जानकी बन्यो साक्षर गाउँपालिका



कोहलपुर ।

बाँकेको जानकी गाउँपालिकालाई बिहीबार साक्षर गाउँपालिका घोषणा गरिएको छ । एक कार्यक्रमका बिच प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य बाबुराम गौतमले गाउँपालिकालाई साक्षर घोषणा गरेका थिए । गाउँपालिका साक्षर भएको प्रमाणपत्र पढेर सार्वजनिक गर्दै गौतमले गाउँपालिका अध्यक्ष रामनिवास यादवलाई साक्षर भएको प्रमाणपत्र प्रदान गरे । बाँकेमा स्थानीय तहहरुमा जानकारी साक्षर घोषणा गर्ने तेस्रो स्थानीय तह हो । यसअघि कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले साक्षर घोषणा गरिसकेका छन् ।

यसअघि गाउँपालिकालाई साक्षर बनाउन लागि गाउँपालिकाले विशेष साक्षर कक्षा संचालन गरेको थियो । बिशेष साक्षर कक्षा संचालन गरी गाउँपालिका ६ वटै वडामा ४ सय ५६ अनौपचारिक शिक्षा मार्फत ८ हजार ६ सय ६३ जनालाई साक्षर बनाएको थियो । यस शिक्षा मार्फत गाउँपालिकाको ९८ दशमलव ६७ प्रतिशत नागरिक साक्षर रहेका र बाँकी ४ सय ६७ अर्थात १ दशमलव ३३ प्रतिशत जनसंख्या अझै पनि साक्षर हुन बाँकी रहेकोले फेरी पनि विशेष शिक्षा मार्फत साक्षरलाई साक्षोत्तर कक्षा संचालन गरी छिट्टै पूर्णसाक्षर गाउँपालिका घोषणा गर्ने अध्यक्ष यादवले बताए । साक्षरता घोषणाका लागि प्रदेश सरकार र जानकी गाउँपालिकाको आर्थिक सहयोगमा साक्षरता कक्षा संचालन भएको हो ।

साक्षर घोषणा सभालाई सम्बोधन गर्दै सांसद गौतमले आफुले प्रत्यक्ष रुपमा आर्थिक सहयोग गर्न नसके पनि प्रदेश सरकारसँग सिफारिस गर्ने र जानकी गाउँपालिकालाई पूर्ण साक्षर बनाउने अभियानमा जुनसुुकै र जस्तोसुकै अवस्थामा पनि आफ्नो सहयोग र सहभागिता रहने बताए । मधेसी समुदायको बाहुल्यता रहेको गाउँपालिका साक्षर गाउँपालिका भएको र यसले अन्य पालिकालाई समेत शिक्षा दिएको भन्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले १२ लाख ५० हजार सहयोग गर्ने घोषणा गरे । उनले साँच्चिकै भौतिक पूर्वाधारको खाँचो परेको विद्यालयलाई पूर्वाधार निर्माणका लागि गाउँपालिकाले सिफारिस गर्ने र जिल्ला समन्वय समितिले यो आर्थिक सहयोग गर्ने बताए । प्रदेश नं. ५ का दुई वटा जिल्ला अझै पनि साक्षर नभएका मध्ये बाँके जिल्ला पनि पर्दछ । बाँके बाहेक कपिलवस्तु जिल्ला पनि साक्षर नभएको जिल्ला हो ।

प्रदेशका विभिन्न कार्यक्रममा जाँदा आफुले जेष्ठ भित्रै जिल्लालाई साक्षर जिल्ला हुने बताएपनि अझै सबै पालिका साक्षर नभएकोमा दुख व्यक्त गदै संयोजक श्रीवास्तवले अब अन्य पालिकाले कुनै बहाना नगरि विशेष शिक्षालाई आफ्नो प्रमुख प्राथमिकता पार्न आह्वान गर्दै जानकी गाउँपालिकाबाट समेत शिक्षा लिन अनुरोध समेत गरे । जानकी गाउँपालिका ६ वटा वडा मध्ये वडा नं. ४ सबै भन्दा बढी ९९ दशमलव ३३ प्रतिशत साक्षर वडा रहेको छ । वडा नं. १ सबै भन्दा कम ९७ दशमलव ६ साक्षर रहेको छ । साक्षर घोषणा कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले हामी छिमेकी गाउँपालिका साक्षर घोषणा भएका छौं अब पूर्ण साक्षरता लागि जानकी र खजुरा गाउँपालिकाले विशेष अभियान संचालन गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा जानकी गाउँपालिका उपाध्यक्ष भुमिसरा धिताल, वडा अध्यक्ष सुरेश अहिर, नेकपा जानकी गाउँपालिका अध्यक्ष पदम धिताल, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार २० गते शुक्रबार