नरैनापुर(बाँके)
शनिबार रातिदेखि परेको अविरल बर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाका भारतीय सीमावर्ती गाउँहरु डुवानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँध जस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहाबपुर्वा, रोशनपुर्वा लगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् । सय भन्दा बढी घर डुबेको र झण्डै १ दर्जन घर भत्किएको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिए । निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पुर्याएको छ । पुल, कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुबैतिर कटान गरेको अध्यक्ष शाहले बताए ।
अविरल बर्षापछि खहरे खोलामा आएको बाढी र आकाशे पानी घरहरुमा पसेको इलाका प्रहरी कार्यालय भोज भगवानपुरका प्रमुख प्रहरी निरिक्षक विरेन्द्रबीर विश्वकर्माले बताएका छन् । गाउँपालिकाको वडा नम्बर १ कट्कुइँयास्थित वडा कार्यालयमा पनि पानी पसेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतको भनाई छ । घरहरुमा पानी पसेपछि गाउँपालिका अध्यक्ष शाह नेतृत्वको टोली उद्दारमा खटिएको छ ।