बर्दिया/ बाँसगढी क्षेत्रमा राजमार्ग र सदरमुकाम जोड्ने मुख्य सड्कमा ई–रिक्सा र अटो रिक्सा चल्न नपाउने भएका छन् । अबदेखि ई–रिक्सा तथा अटो रिक्सा बिरामी बोकेका र तेल हाल्न पेट्रोल पम्पसम्म जान बाहेक अन्य समयमा यात्रु बोकेर राजमार्ग र सदरमुकाम जाने मुख्य सड्कमा चल्न पाउने छैनन् ।
यातायात व्यवस्था विभागले ई–रिक्सा र अटो रिक्सा राजमार्ग र सदरमुकाम जोड्ने मुख्य सड्कमा चल्न नपाउने गरी परिपत्र गरिए अनुसार बाँसगढी क्षेत्रमा पनि परिपत्रको कार्यान्वयनको लागि इलाका प्रहरी कार्यालय बाँसगढी र अस्थाई ट्राफिक प्रहरी पोष्ट बाँसगढीले सक्रियता बढाएको छ ।
पछिल्लो समयमा ई–रिक्सा र अटो रिक्साहरुले राजमार्गमा भिडभाड गर्ने, ओभर स्पिड र लापरबाहीले दुर्घटना बढ्दै गएकाले ई–रिक्सा र अटो रिक्कालाई राजमार्ग र सदरमुकाम जोड्ने मुख्य सड्कमा नचलाउन अनुरोध गरिने र अटेर गरी चलाएको पाइएमा कारवाहीको दायरामा ल्याउने इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी प्रमुख प्रहरी निरीक्षक बसन्त गौतमले बताए ।
ई–रिक्सा र अटो रिक्सा राजमार्ग निषेध अभियान अन्तरगत बाँसगढी बजार, लखना चोक, लक्ष्मणा चोक र बैदी चोकबाट सञ्चालन हुने अटो रिक्साका चालकहरुलाई यातायात विभागले पत्राचार गरेको पत्र सहित जानकारी दिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट बाँसगढीका प्रमुख प्रहरी साहायक निरीक्षक पुरुषोतम पौडेलले बताए ।
ई–रिक्सा र अटो रिक्सा चालकलाई एक हप्ताको म्याद दिएर सुझाव स्वरुप जानकारी दिएको र एक हप्तापछि राजमार्गमा चल्न बन्देज लगाइने प्रहरी साहायक निरीक्षक पौडेलले बताए । बाँसगढी क्षेत्रमा ई–रिक्सा र अटो रिक्सा राजमार्ग चल्न निशेष अभियान थालिएकाले बाँसगढी क्षेत्रका सबै नागरिकहरुले अभियान सफल पार्न सहयोग गरिदिन समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
यातायात व्यवस्था विभागले ई–रिक्सा र अटो रिक्सा राजमार्ग र सदरमुकाम जोड्ने राजमार्गमा चल्न निशेष गर्ने एकवर्ष पहिले सबै क्षेत्रमा परिपत्र गरिसकेको थियो । तर बर्दिया, बाँके र दाङ क्षेत्रमा यो कार्यान्वय भएको देखिँदैन । बाँसगढी क्षेत्रमा परिपत्र कार्यान्वयनको लागि अभियान थालिएको र चालकहरुले अभियानलाई सफल पार्न सहयोग पु¥याउन समेत आग्रह गरिएको छ ।