शिक्षालाई जीवनसँग प्रत्यक्ष जोड्नु अहिलेको आवश्यकता



बाँसगढी, बर्दिया/  उच्च स्तरीय शिक्षा आयोगका सदस्य तथा शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षालाई रुपान्तरण गर्दै मानव जीवनसँग प्रत्यक्ष मेल खाने हनुपर्नेमा जोड दिएका छन् । सामुदायिक शिक्षा रुपान्तरणका लागि जनप्रतिनिधि तथा शैक्षिक सरोकारवालासँगको एकदिने कार्यशालाको सहजीकरण गर्दै कोइरालाले शिक्षालाई वैज्ञानिक, व्यवहारिक, जनमुखी र उत्पादनमुखी बनाउने भनिए पनि जसरी हुन्छ रुपान्तरण गर्दै जीवनसँग प्रत्यक्ष जोड्नु अहिलको आवश्यकता रहेको बताए ।

त्यस्तै बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले बाँसगढी क्षेत्रमा देखिएका शैक्षिक चुनौतिको सामना गर्न सबैले आ–आफ्नो जिम्वेवारी इमान्दारिताका साथ पुरा गर्दै परिवर्तित परिस्थितमा रुपान्तरण हुनु पर्नेमा जोड दिए । नगर प्रमुख अधिकारीले शैक्षिक क्षेत्रको विकास र शिक्षाको गुणस्तर विकास गर्न हिम्मतका साथ लाग्ने बताए । कार्यशाला गोष्ठीमा स्थानीय शिक्षा ऐन, शिक्षा नियमावली, शिक्षा नीति, शैक्षिक योजना र शैक्षिक कार्यविधिका बारेमा बृहत छलफल गरी समूह निर्माण गरी समूगतरुपमा सुझाव पेश गरिएको थियो ।

कार्यशालामा आएका सुझावलाई समायोजन गर्दै नगर शिक्षा योजना निर्माणमा सहजताका लागि शिक्षा युवा तथा खेलकुद शाखा बाँसगढीका प्रमुख रबिलाल मिजारको संयोजकत्वमा ५ सदस्य समिति गठन गरिएको छ । जसमा एसोसियसनका ३ जना अध्यक्षहरु र स्थानीय शिक्षक महासंघका अध्यक्ष सदस्य रहने छन् । एक्सन एड नेपाल र कमैया महिला जागरण समाज नेपालद्वारा स्थानीय अधिकार कार्यक्रम अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखा बाँसगढी र कमैया महिला जागरण समाज नेपालको आयोजनामा कार्यशाला भएको हो ।

बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी, उच्च स्तरीय शिक्षा आयोगका सदस्य तथा शिक्षाविद् विद्यानाथ कोइराला, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रबिलाल मिजार, नगर भित्रका सामुदायिक तथा नीजि विद्यालयका प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षासम्बद्ध सरोकार निकायका प्रतिनिधधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षाा शाखाका स्रोत व्यक्ति भेषराज गैरेले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर २० गते बिहीबार