बर्दिया/ बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले स्रोत र साधनको प्रयोग गरी छिटो छरितो रुपमा नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । मंगलबारदेखि बाँसगढीमा सुरु भएको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी दुई दिने तालिमको बुधबार समापन गर्दै नगर प्रमुख अधिकारीले वडामा भएको स्रोत साधनलाई प्रयोग गर्दै ई–सेवाको प्रयोग गरी नगरबासीलाई सेवा प्रवाह गर्न वडा अध्यक्ष, सचिव र कर्मचारीहरुलाई आग्रह गरे ।
उनले नगरपालिका भित्र रहेका ९ वटै वडा कार्यालयबाट सरल र सहज रुपमा नागरिकलाई सेवा दिन र स्रोत साधन अपुग भएको वडाहरुमा स्रोत साधनको व्यवस्था गर्नेतर्फ पहल गर्ने बताए । नगर प्रमुख अधिकारीले दुई दिनसम्म सिकेको ज्ञानलाई उपयोग गरी सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ताको सेवालाई छिटो छरितो रुपमा प्रभाह गर्न सहभागिहरुलाई अनुरोध गरेका थिए ।
दुई दिनसम्म सञ्चालन भएको अभिमुखीकरण तालिममा बाँसगढी नगरपालिकामा रहेका ९ ओटै वडाका वडा अध्यक्ष, सचिव र साहायक कर्मचारीहरुको सहभागिता रहेको थियो । अभिमुखीकरणमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना ईन्टरनेट र कम्प्युटरबाट भर्ने तरिका, सेवा प्रवाह गर्र्ने तरिकाको बारेमा सैद्धान्तिक र प्रयोगात्मक रुपमा सहभागीहरुलाई सिकाइएको थियो ।
तालिममा बाँसगढी नगरपालिका सूचना प्रविधि शाखाका कम्प्युटर अपरेटर क्षितिज पौडेलले सहजीकरण गरेका थिए । नगर प्रमुख सालिकराम अधिकारी, प्रमुख प्रशासकिय अधिकृत अमरराज खत्री लगायतको सहभागिता रहेको समापन कार्यक्रमको सञ्चालन नगरपालिकाका शेर बहादुर केसीले गरेका थिए ।