शुभाकर विश्वकर्मा, कोहलपुर
बाँकेका आठ वटै स्थानीय तह ‘पूर्ण खोप’ पालिका घोषणा भएका छन् । बुधबार कोहलपुर नगरपालिकालाई ‘पूर्ण खोप’ सुनिश्तिता तथा दिगोपना घोषणा गरिएसँगै बाँकेका सबै स्थानीय तह पूर्ण खोप घोषणा भएका हुन् ।
बाँकेमा एक उपमहानगर, एक नगर र ६ गाउँपालिका छन् । जिल्लाको अन्तिम पालिकाको रुपमा कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्तिता तथा दिगोपना घोषणा गरिएको हो ।
कोहलपुरमा १६–२३ महिना सम्मका बालबालिकाको पूर्ण खोप समायोजन प्रतिवेदन अनुसार कुल ७ सय ४० बच्चाहरुले खोप लगाएका हुन् । नगरपालिकामा थालिएको अभियानमा खोप कार्ड भएका ६ सय ५६ र कार्ड नभएका ८४ ले पनि खोप प्राप्त गरेका छन् ।
यसैगरी हाल खोप पाइरहेका ०–१५ महिना सम्मका बालबालिकाको ‘लाइन लिस्टिङ’ को समायोजन प्रतिवेदन अनुसार खोप कार्ड भएका १ हजार ६ सय ४, कार्ड नभएका ३४ र विभिन्न ६ जातमा विभाजन गरिएका मध्ये कुल १ हजार ६ सय ४२ जना बालबालिकाले खोप पाएका हुन् ।
यसैगरी घरधुरी सर्वेक्षण गर्दा भेटिएका खोप नलाएका १६ देखि २३ महिनाका १५ वटै वडाका कुल ३५ जनालाई विभिन्न पाँच रोगको खोप लगाइएको हो । बुधबार आयोजित एक समारोहका बीच जिल्ला पूर्ण खोप समन्वय समितिको कार्यालय बाँकेले कोहलपुर नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपनाको प्रमाण– पत्र’ प्रदान गरेको थियो भने नगरपालिकाले पनि सचिवालयलाई सबै प्रक्रिया पुरा गरेको प्रमाण– पत्र हस्तान्त्रण गरेको थियो ।
कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाहले प्रमाण– पत्र एक आपसमा वितरण गरेका थिए । यो सँगै बाँकेका सबै पालिका पूर्ण खोप सुनिश्तिता तथा दिगोपना घोषणा भएका छन् ।
बाँके जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने अभियान अन्तर्गत चालु आर्थिक वर्षमा डुडुवा गाउँपालिका सबैभन्दा पहिला माघ १३ गते र राप्तीसोनारी गाउँपालिका माघ २७ गते पूर्ण खोप घोषणा भएका थिए । फागुन ८ गते नरैनापुर, फागुन १४ गते बैजनाथ, फागुन २८ गते नेपालगन्ज उपमहानगर र फागुन २९ गते खजुरा गाउँपालिकालाई घोषणा गरिएको थियो ।
सबै पालिकामा १६ देखि २३ महिनासम्मका बालबालिकाहरुलाई सम्पूर्ण खोप दिइएपछि सबै स्थानीय तह पूर्ण खोप युक्त पालिका घोषणा भएका हुन् । कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्तिता तथा दिगोपना घोषणा कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहले जिल्लालाई नै शुक्रबार(भोलि) पूर्ण खोप सुनिश्तिता तथा दिगोपना जिल्ला घोषणा गरिने जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय पूर्ण खोप निर्देशिका अनुसार पुरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया कोहलपुर सहित जिल्लाका सबै स्थानीय तहले पुरा गरिसकेका छन् ।
अब जिल्लामा १६ देखि २३ वर्ष उमेर समूहका कोही पनि बालबालिका खोपबाट बन्चित नरहेको उनको भनाइ छ । ‘यो अभियान जिल्लामा केही समयदेखि चलिरहेको थियो । जिल्लाका सबै स्थानीय तह पूर्ण खोप युक्त भएका छन् । अब जिल्लालाई नै घोषणा गर्छौ । यो हाम्रो लागि खुसीको कुरा हो ।यस अभियानमा जोडिएका सबै धन्यावादका पात्र छन् ।’ प्रमुख शाहले भने ।
उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले नगरपालिकाले निर्देशिका अनुसार सम्पूर्ण प्रक्रिया पुरा गरेको बताए । उनका अनुसार अब कोहलपुरमा कोही पनि बालबालिका खोपबाट बन्चित छैनन् । नगरपालिका आगामी दिनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नको लागि सक्रिय रुपमा लागिपरेको बताए ।
यो खोप अभियानमा ६२ जना स्वास्थ्यकर्मी र ७१ जना महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य चौकीहरु र वडा कार्यालय प्रत्यक्ष रुपमा जोडिएका थिए । घोषणा सभामा सम्पूर्णलाई सम्मान गरिएको थियो ।