प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही नियुक्त, भोलि शपथ लिने



सुर्खेत,३फागुन/    प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्र प्रदेश ६ का संसदीय दलका नेता महेन्द्रबहादुर शाही नियुक्त हुनुभएको छ ।

बिहीबार नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको सर्मथनमा शाहीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्मथन गरी हस्तारक्षरसहित दावी पेश गरिएको थियो । कालीकोट (ख) बाट प्रदेशसभामा निर्वाचित शाही पूर्व ऊर्जामन्त्री समेत हुनुहुन्छ ।

कालिकोटको पचालझरना गाउँपालिका (साविकको नानिकोट गाविस वडा नं ८) मा जन्मिनु भएका शाहीलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नियुक्त भएसंगै पत्रकारहरुँंग संक्षितमा कुरा गर्दै मुख्यमन्त्री शाहीले प्रदेश ६ लाई कसरी आत्मनिर्भर गराउन सकिन्छ भन्ने विषयमा केिन्द्रत भएर कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले शुक्रबार नै मन्त्रीमण्डल गठन गर्ने र यसका लागि दुवै दलहरुसंग छलफल भइरहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री नियुक्त भएसँगै बिहीबार नै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । बिहीबार ३ बजे मुख्यमन्त्रीको शपथ प्रदेश प्रमुख दुर्गाकेशर खनालले खुवाउने कार्यक्रम रहेको प्रदेश कार्यालयले जानकारी दिएको छ ।

वाम गठबन्धनको भागबण्डा अनुसार माओवादीको भागमा ६ र ७ नम्बरको मुख्यमन्त्री परेको थियो । प्रदेश ६ मा जम्मा ४० सांसदमध्ये एमालेका २० र माओवादीका १३ गरी वाम गठबन्धनका ३३ जना छन् । त्यस्तै कांग्रेसका ६ र राप्रपाका एक जना सांसद रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ३ गते बिहीबार