प्रदेश ६ मा एमाले संसदीय दलको नेता कंडेल चयन



सुर्खेत,२६ माघ/  प्रदेश ६ को पहिलो दल एमालेको संसदीय दलको नेतामा पोलिटव्यूरो सदस्य यामलाल कंडेल चयन भएका छन् ।

बिहीबार बसेको प्रदेश ६ को दलको बैठकले कंडेललाई दलको नेतामा सर्वसम्मत चयन गरेको सांसद पदमा खड्काले जानकारी दिइन् । सुर्खेत क्षेत्र नं. २ (क) बाट निर्र्वािचत कंडेल सर्वसम्मत रुपमा दलको नेतामा चयन भएका हुन् ।

कंडेललाई दलको नेतामा सांसद प्रकाश ज्वालाले प्रस्ताव गरेका थिए । सल्यानबाट प्रदेश सांसद बनेका ज्वाला समेत संसदीय दलको नेतामा दावी गरेपनि अन्ततः उनकै प्रस्तावमा कंडेल दलको नेता चुनिएका हुन् ।

कंडेल प्रदेश ६ को मुख्यमन्त्रीको दावेदार थिए । तर, प्रदेश ६ मा माओवादीलाई मुख्यमन्त्री दिने सहमति भएपछि उनी सभामुख बन्ने चर्चा चलाइए पनि कंडेलले भने यस अघि नै आफू दलको नेताको दाबेदार भएको तर सभामुखको दाबेदार नभएको प्रष्ट पारिसकेका छन् ।

प्रदेश ६ मा एमालेले ५० प्रतिशत अर्थात २० सिट जितेर पहिलो भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २६ गते शुक्रबार