राप्रपा सल्यान एमालेमा गाभियो



सल्यान,४ माघ/  राष्ट्रिय प्रजातन्त्र पार्टीको सल्यान जिल्ला कार्य समिति नेकपा एमालेमा गाभिएको छ । बिहीबार सदरमुकाम खलंगामा रहेको एमालेको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी राप्रपा एमालेमा गाभिएको जानकारी दिइएको हो ।

जिल्ला कार्य समितिमा रहेका ४४ जना सदस्यसहित ९ सय बढी संगठित सदस्य नेकपा एमालेमा प्रवेश गरेको राप्रपा सल्यानका जिल्ला अध्यक्ष मनोज सिहंले बताउनुभयो । उहाँले राप्रपाका सह–महामन्त्री मनोज प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर रायलगायतका केन्द्रीय स्तरका नेताहरु पनि एमालेमा समायोजन भएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ‘राप्रपाका केन्द्रीय नेताको गद्दारीले गर्दा हामीले पार्टीको अस्तित्व नै गुमाएका छौँ ।’ उहाँले देशकै चौथो शक्तिका रुपमा रहेको पार्टीले राष्ट्रिय राजनीतिमा पार्टीको झण्डा बोकेर राजनीति गर्ने अवस्था नभएकाले एमालेमा समायोजन भएको उहाँले बताउनुभयो ।

भर्खरै सम्पन्न भएको स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा जनताले राप्रपालाई विश्वास नगरेको बताउँदै एमालेसँग समायोजनको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिमा पार्टीको सिद्दान्त र अस्तित्व बचाउन जिल्ला तहका नेतृत्वबाट गाह्रो हुँदो रहेछ, केन्द्रीय तहबाट पनि नेता विचलित भएकाले हामी यो अवस्थामा आएका हौँ ।’

राप्रपाका अध्यक्षसहितको सिंगो टोलीलाई एमालेमा स्वागत गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द पुनले राजनीतिक मतभिन्नता नहुने गरी राप्रपासँग एक भएको बताउनुभयो । ‘राप्रपा एमालेमा समायोजन भइसक्यो, अब जिम्मेवारी बाँडफाँड गर्ने कुरामा छलफल भइरहेको छ’ उहाँले भन्नुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ४ गते बिहीबार