एजेन्सी, २६ असोज – एएफसी एसियन कप छनोट चरण अन्तर्गत समूह ‘ए’ मा लगातार चौथो खेल जितेको भारतले दुई खेल खेल्नु अघि नै २०१९ एसियन कपमा स्थान पक्का गरेको छ ।

गएराति भएको खेलमा भारतले मकाउलाई ४–१ ले हराएको हो । भारतलाई खेलको २८ औं मिनेटमा रोलिंग बोर्गेसले अग्रता दिलाएका थिए । निकोलस टाराओले ३७ औं मिनेटमा मकाउका तर्फवाट बराबरी गोल गरेका थिए ।

दोस्रो हाफको ६० औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई पुन अग्रतामा फर्काए भने लाम सेङ्गको आत्मघाती गोलले भारतले ७० औं मिनेटमा अग्रता बलियो बनायो । जेजेले खेलको इन्जुरी समयमा गोल गर्दै भारतको जित सहज बनाएका थिए ।
२०११ मा अघिल्लो पटक एसियन कपमा एएफसी च्यालेन्ज कपको विजेता रुपमा भाग लिएको भारतको यो चौथौ सहभागिता हुनेछ ।