लालिगुराश सम्बाद दाता
जाजरकोट /२७ साउन
त्रिवेणी नलगाड नगरपालिका वडा ११ का जनप्रतिनिधीहरुस्पष्टीकरणमा परेका छन् । त्रिवेणी नलगाड नगरपालिका वडा नं ११ का वडा अध्यक्षसहित चार जना वडा सदस्यले कामै नभएको कामको पनि काम भएको भनि रकम भुक्तानीका लागी सिफारिस गरेपछि स्पष्टिकरणमा परेका हुन् ।
नगरपालिकाको ११ चौखा देखी वडा नं १० रजिकसम्म जोड्ने चौखा रजिक बानियाँगाँउ सर्मी डोल्पा सडकमा कामै नहुँदा पनि काम गरेको भनी उनीहरुले सिफारिस गरेपछि जिल्ला समन्वय समितिले २३ लाख रुपैया भुक्तानी गरेको थियो ।
यसबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि जिल्ला समन्वय समितिले छानबिन गरेको थियो । छानविन गर्दा सम्बन्धित वडाका जनप्रतिनिधि अनियमित कार्यमा संलग्न भएको पाईएको थियो । अख्तियारले जिल्ला समन्वय समितिलाई के कति कारणले कामै नभएपनि भुक्तानीका लागी चेक काटिएको हो भनि स्पष्टिकरण सोधेपछि छानवीन थाल्दा यस्तो तथ्य फेला परेको हो ।
नेकपा एमाले पार्टीबाट निर्वाचित वडा अध्यक्ष जितबहादुर मल्ल र सदस्यहरु भीमबहादुर मल्ल, कृष्णकुमारी खत्री वानियाँ, विष्णुकमारी नेपाली र विर्खबहादुर बानियाँले वडा कार्यालयको लेटर प्याडमा ९० मिटर मात्र खनिएको बाटोलाई दुई हजार तीन सय मिटर खनिएको र काम पनि सन्तोषजनक भएको भन्दै भुक्तानीका लागी स्थानिय विकास अधिकारीलाई सिफारिस गरेका थिए । कामै नभए पनि नक्कली विल भरपाई पेश गर्ने जिल्ला प्राविधिक कार्यालयका प्राविधिक बलबहादुर विश्वकर्मालाई बरखास्त गरिएको छ ।
जनप्रतिनिधीलाई जिल्ला समन्वय समितिले के कति कारणले कामै नभएको बाटोको निर्माण सम्पन्न भयो भनि सिफारिस गरियो दुई हप्ता भित्र स्पष्टिकरण पेश गर्न पत्र पठाएको जिल्ला समन्वय समितिले वताएको छ । त्यस्तै उपभोक्ता समितिका अध्यक्ष लगबहादुर बस्नेत , सचिव शुष्मा विसी र कोषाध्यक्ष जय कुमारी खत्रीलाई पनि स्पष्टिकरण सोधिएको छ । निर्वाचित भएको एक सय दिन नवित्दै वडाका सवै पदाधिकारी स्पष्टिकरणमा परेको देशकै पहिलो घटना हो ।
घटना सार्वजनिक भएपछि कामै नगरेको सडकमा भुक्तानी दिईसकेको चेक समेत कार्यालयले थुतेर क्यान्सिल गरेको स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले वताए ।
अन्नपूर्ण पोस्ट द्वारा साभार