22 September 2023  |   शुक्रबार, अशोज ५, २०८०

मालपोतका दुई कर्मचारी पाँचलाख घुस सहित पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ २४, २०७४  

कोहलपुर, २४ जेष्ठ  / अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेत सम्पर्क कार्यालय कोहलपुरले जिल्ला मालपोत कार्यालय बाँकेका दुई कर्मचारी झण्डै पाँच लाख घुस सहित पक्राउ परेका छन् । सोमबार राती साढे ९ बजे मालपोत कार्यालयका खरिदार नर बहादुर सारुमगर र लेखनदास सर्जु थापालाई ४ लाख ९८ हजार घुस रकम सहित नेपालगञ्जस्थित एक रेष्टुरेन्टबाट अख्तियारले पक्राउ गरेको हो । अख्तियार सम्पर्क कार्यालय कोहलपुरले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई घुस लिँदालिदै पक्राउ गरिएको पुष्टी गरेको हो ।
नेपालगञ्ज १८ कारकाँदोस्थित जमिलु निसा खाँको नाममा रहेको कि.नं. काँरकादो १(घ) कि.नं.३३ र ३४ को जग्गाको निर्णय प्रमाणित गरी विक्रि गर्ने प्रयोजनको लागि विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने सूचना र उजुरीको आधारमा खटिएको टोलीले उनीहरुलाई घुस रकम सहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।
स्रोतका अनुसारलाई उनीहरुलाई अख्तियारको केन्द्रीय कार्यालय पठाइएको छ । मंगलबारको ‘लास्ट फ्लाईट’ मा उनीहरुलाई केन्द्र पठाइएको हो । केन्द्रले नै यो घटनामा चासो देखाएर अनुसन्धानका लागि काठमाडौं पठाउन भनेपछि अख्तियार कोहलपुरले पठाएको स्रोतको भनाई छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २४, २०७४     12:30:02 PM  |