19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

राँझा विमानस्थलमा फूलैफूलको बगैचा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ४, २०७४  

कोहलपुर, ४ जेष्ठ / राँझा विमानस्थल हुँदै राजधानी र मध्यपश्चिमका पहाडी, हिमाली जिल्ला उडान भर्ने यात्रुलाई उडान ढिला भयो र समय पास गर्न उकुसमुकुस भैरहेको छ भने अब पहिला जस्तो दिक्क मान्नुपर्ने छैन । किन की मध्यपश्चिमको क्षेत्रीय राँझा विमानस्थल नेपालगन्जलाई फूलैफूलको बगैचाले यात्रुहरुको मनलाई भुलाउने काम गर्नेछ । कुनै समयमा लोभलाग्दो र रमणीय नलाग्ने विमानस्थल बाहिरी र भित्री क्षेत्र अहिले मनमोहक र रमाउने स्थल बनिरहेको छ । फूलै फूलको बगैचाले यात्रु र कुरुवालाई फूलहरु हेर्दै, फोटो खिच्दै, सेल्फि लिँदै र फूलहरुको बास्ना लिँदै रमाउने वातावरण बनेको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरण नेपालगन्जले चालू आर्थिक बर्षमा विमानस्थलको प्रवेशद्धारबाट यात्रु प्रतिक्षालय, सवारी साधन पार्किङ्स्थल र भित्री विमान यात्रु प्रस्थानस्थलसम्म बगैचा बनाएको छ । गत भदौ महिनादेखि सूरु भएको गार्डेन निर्माण कार्य चैतमा सकिएसंगै विमानस्थलको रुप फेरिएको छ ।
पहिला झाडी, घाँस पलाएको देखिने एयरर्पोटको बाहिरी, भित्री भाग अब रंगिन बन्ने बगैचा बनेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण नेपालगन्जका प्रमुख प्रतापबावु तिवारीले गार्डेन र सजावट काम सकिएको बताए ।
यहाँ विभिन्न प्रकारका मौसमी फूल, चाईनीज दुबो, कलर लगाएको उनले भने । यहाँ बाहिरी क्षेत्रको गार्डेनमा बस्न र आरामदायीका लागि स–साना प्रतिक्षालय र पेटि बनेका छन् । अव एयरर्पोट आवतजावत गर्ने यात्रुलाई आकर्षण गर्ने विमानस्थलको दावी छ । विगतमा एयरर्पोटको गेटदेखि टर्मिनसम्म प्लान्ट बनाएपछि फूलहरु
थिएनन् । केही रुख, बोटविरुवा मात्र लगाएको थियो । बाँकी झाँडीले ढोकेर कुरुप बनाएको थियो । अव गेटबाटै फूलैफूलहरुले ढाकिएको छ ।
मखमली, गुलाव, दुबो लगायत फूलहरु रोपिएको छ । बेगमबेली लगायतका बोटहरु पनि लगाएको छ । त्यसकारण अहिले फूलहरुको गार्डेन बनेको छ ।
नेपालगन्जमा फूलहरुको अभाव रहेकोले पोखरा र काठमाण्डौबाट ल्याएर फूलहरु लगाएको विमानस्थल प्रमुख तिवारीले जानकारी दिए । चालू आर्थिक बर्षको दश लाख रुपँैया खर्चमा विमानस्थलमा बगैचा निर्माण गरिएको हो । फूलैफूलको बगैचा निर्माणपछि यहाँबाट राजधानी र कर्णाली अञ्चलमा आवतजावत गर्ने यात्रु र पर्यटकलाई विमानस्थले आकर्षित बनेको
छ । फूलहरु सिजन अनुसार हुने भएकोले बगैचामा १२ महिना फूलहरु फूलने छन् ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ४, २०७४     12:59:00 PM  |