कोहलपुर, २८ बैशाख / यस क्षेत्रको निर्वाचन दोश्रो चरणमा हुने भएपछि सुस्ताएको चुनावी गतिविधि पुनः शुरु हुन थालेको छ । विभिन्न राजनैतिक दलहरुले भेला, बैठकहरु तीव्र पारेका छन् । साथै चुनावी प्रचारप्रसारलाई पनि अगाडि बढाएका छन् ।
नेपाली कांग्रेसले बाँकेमा अहिले सम्म कुनैपनि स्थानीय तहको उम्मेदवार छनौट गर्न सकेको छैन । नेकपा एमाले र नेकपा
(माओवादी केन्द्र) ले बाँके ७ वटा स्थानीय तहमा उम्मेदवार छनौट गरेपनि नेपालगञ्ज उपमहानगरपालिकामा भने अहिले सम्म उम्मेदवार छनौट गर्न सकेका छैनन् ।
नेपालगञ्जमा उम्मेदवार छान्न किन यति कठिन ? नेपालगञ्जवासीमा प्रश्न उब्जिन थालेको छ । मधेशी, मुस्लिमको बाहुल्यता भएको ठाउँमा मेयर पदको उम्मेदवार चुन्नमा अलिकति पनि गड्बडी हुने हो भने पराजय व्यहोर्नुपर्ने आशंकाका कारण ढिलाई भएको चर्चा चल्न थालेको छ । मधेशी, मुस्लिमको भोट नै निर्णायक हुने देखिएपछि नेपालगञ्जमा ठूला दलले सिफारिस पठाउँदा समेत मधेशी, मुस्लिमको नाम पनि समेटेर पठाएका छन् ।
नेकपा एमाले बाँकेले मेयरका आंकाक्षीहरु दत्तप्रसाद आचार्य, बिजय गुम्ता र समसुद्धिन सिद्धिकीको नाम सिफारिस गरेको छ । त्यस्तै उपमेयर उम्मेदवारमा शान्ति ढकाल, रचना श्रेष्ठ र तुल्सा थापाको नाम सिफारिस गरेको छ ।
यस्तै नेकपा (माओवादी केन्द्र) बाँकेले नेपालगञ्जको मेयरका आकांक्षीहरु अत्तरहुसेन फारुकी, दामोदर आचार्य र नविन शर्माको नाम सिफारिस गरेको छ । उपमेयर उम्मेदवारमा पार्वती पुन, सिला श्रेष्ठ र सबनम अन्सारीको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेसबाट नेपालगञ्ज उप–महानगरपालिकाको मेयर पदका आकांक्षीमा निजामुद्धिन सिद्धिकी, सुरेश कु. कनौडिया, सुरेन्द्र हमाल, राजु थापा, प्रशान्त विष्ट, अच्युत प्रसाई लगायत छन् । केही दिन अघिसम्म बाँके सभापति किरण कोइरालाको चर्चा चलेको थियो । तर, उनले मेयरमा लड्ने इच्छा नदेखाएको स्रोतले बताएको छ । उपमेयरमा नारायणी रुपाखेती, उमा थापामगर, पुष्पा सुक्ला, कमला भट्ट लगायत आकांक्षी छन् ।
क्षेत्रीय कार्यसमितिले अहिलेसम्म कसैको पनि नाम सिफारिस नगरेको नेपाली कांग्रेस बाँके सचिव कपिलदेव शर्माले बताए । ‘नेपालगञ्जमा मात्रै होइन, बाँकेका कुनै पनि स्थानीय तहका आकांक्षीहरुको नाम सिफारिस भएर आएको छैन’ उनले भने ‘कार्यविधि अनुसार सकेसम्म उम्मेदवार क्षेत्रले टुंग्याउने हो, सर्वसम्मत हुन नसके मात्रै जिल्लामा आउँछ ।’
यस क्षेत्रको निर्वाचन दोश्रो चरणमा हुने भएकाले पनि ढिलो हुन गएको उनको भनाई छ ।
नेकपा एमाले बाँके अध्यक्ष अशोक कोइरालाका अनुसार स्थायी कमिटीले निर्णय गर्ने भएकाले अहिलेसम्म उम्मेदवारको नाम केन्द्र नपठाएको बताए । उनले स्थायी कमिटीले चाँडै उम्मेदवारको टुंगो लगाएर पठाउने विश्वास व्यक्त गरे ।
यता नेकपा (माओवादी केन्द्र) बाँके संयोजक आईपी खरेलले नेपालगञ्जको उम्मेदवार केही दिनभित्रै टुंगो लाग्ने बताएका
छन् । तीन ठूला दलले नेपालगञ्जमा उम्मेदवारको टुंगो नलगाएपनि राप्रपा र राष्ट्रिय जनमोर्चाले भने टुंगो लगाएका छन् । राप्रपाबाट डा. धवलसम्शेर राणा र राष्ट्रिय जनमोर्चाबाट कृष्णराज पाण्डे मेयर पदमा लड्ने पक्कापक्की भएको छ ।
प्रकाशित मिति : २०७४ वैशाख २८ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्