सल्यान, बैशाख २६ / ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले भारत सरकारबाट खरिद गर्न लागेको एलइडी बल्बमा बाहिर आए जस्तो कुनै चलखेल नभएको बताएका छन् । गृह जिल्ला रुकुम जाने क्रममा श्रीनगरमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले बल्ब खरिद गर्ने कुरा नेपाल र भारत सरकार बीच सम्झौता गरेर हुने कुरा हो, यसमा कुनै चलखेल भएको छैन भने ।
उनले खलङ्गा शीतलपाटी खानेपानीका लागि विद्युत् जडान प्रक्रिया ढिला भइरहेकाले तत्काल विद्युत उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरण सल्यानलाई निर्देशन दिए ।
अर्को प्रसङ्गमा उनले सरकारले सबैलाई मिलाएर लानुपर्ने भएकाले दुई चरणमा स्थानीय चुनाव गर्न लागिएको जानकारी दिए । “सरकारले सबै राजनीतिक दललाई मिलाएर अगाडि बढ्न चाहेको छ, मधेसी मोर्चालाई पनि चुनावमा ल्याउन दुई चरणमा चुनाव गर्न लागिएको हो”, मन्त्री शर्माले भने ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न स्थानमा भइरहेको झडपलाई लक्षित गर्दै दलहरुलाई संयमित हुन आग्रह गरे । “स्थानीय तहको चुनावमा सबै संयमित बनौं, कसैले पनि प्रतिशोध र तडकभडक नगरौं, सबै राजनीतिक दलले आफ्ना कार्यकर्तालाई संयमित बनाउने प्रयास गरौं”, मन्त्री शर्माले भने ।
– See more at: http://ekhabaronline.com/2017/05/2668#sthash.f4F4yec4.dpuf