25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

मध्यपश्चिम क्लब फाइनलमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ८, २०७४  

कोहलपुर, ८ बैशाख  /  मध्यपश्चिम क्रिकेट क्लब कोहलपुर काठमाडौंमा भइरहेको यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ । मध्यपश्चिमले प्रतियोगितामा सहभागी देशैभरका २६ टिमलाई पछि पार्दै फाइनलको यात्रा तय गरेको हो ।
बिहीबार भएको सेमिफाइनल खेलमा बुटवल क्रिकेट एकेडेमीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । काठमाण्डौंस्थित टि.यू. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङका लागि मैदानमा उत्रिएका बुटवल एकेडेमीका खेलाडीहरुले कमजोर प्रदर्शन गर्दै ६७ रन जोड्न सफल भएका थिए । निर्धारित १५ ओभरको खेलमा बुटवल एकेडेमीले आप्mना सबै विकेट गुमाउँदै ६७ रन मात्र जोडेपछि मध्यपश्चिम लागि जित निकाल्न सहज भएको थियो ।
एकेडेमीको ब्याटिङ लाईन धारासायी बनाउने क्रममा मध्यपश्चिमका बलर सौगात रानाभाटले एक्लै ५ विकेट लिन सफल भएका थिए । प्रतियोगिता भर उत्कृष्ट बलिङ गर्दै आएका रानाभाटको बलका अगाडि एकेडेमीका खेलाडीहरु निरिह बनेका थिए ।
झिनो लक्ष्य पाएको मध्यपश्चिमले ४ विकेटको क्षतिमा सहजै लक्ष्य भेट्टाएको थियो । एकेडेमीले दिएको ६८ रनको लक्ष्य भेटाउने क्रममा विशाल के.सी.ले २२ रन प्रहार गरेका थिए भने सन्दीप नेपालीले अविजित २२ रन जोड्न सफल भएका थिए ।
बिहिबार सम्पन्न सेमिफाइनल खेलको म्यान अफ द म्याद ५ विकेट लिन सफल मध्यपश्चिमका बलर सौगात रानाभाट घोषित
भए ।
यसैबीच बिहिबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै महेन्द्रनगर क्रिकेट एकेडेमी फाइनलमा प्रवेश गरेको छ । आज शुक्रबार हुने फाइनल खेलमा मध्यपश्चिमले महेन्द्रनगर क्रिकेट एकेडेमीको सामना गर्ने मध्यपश्चिमका टिम ब्यवस्थापक होमेन्द्र क्षेत्रीले जानकारी दिए ।
मध्यपश्चिमका खेलाडीहरुको शसक्त बलिङ र ब्याटिङका कारण त्रि.वि. मैदानमा थप उत्साह पैदा भएको थियो । छनोट चरणका खेलदेखि नै उपाधिको दावेदारी प्रस्तुत गर्दै आएको मध्यपश्चिमका खेलाडीहरुलाई नेपाली क्रिकेट टिमका सहायक प्रशिक्षक दिपेन्द्र प्रताप सिंह, पुर्व राष्ट्रिय कप्तान लेख बहादुर क्षेत्री, पुर्व राष्ट्रिय क्रिकेट खेलाडी दुर्गा सेन लगायतले निरन्तर प्रशिक्षण दिँदै आएका थिए ।
स्थानीय स्तरबाट समेत राम्रो खेलाडीहरु उत्पादन गर्न सकिन्छ भन्ने बलियो उदाहरणको रुपमा मध्यपश्चिम क्रिकेट क्लब उदाएको क्लबका उपाध्यक्ष संगिन शर्माले बताए । स्थापनाको छोटो समयमै बिभिन्न उपाधि चुम्न सफल क्लबका खेलाडीहरुको लगाव र मेहनतका कारण पश्चिम क्षेत्रले गर्व गर्न सक्ने अवस्था सृजना भएको भन्दै शर्माले आगामी दिनमा राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादनका लागि क्लबले पुर्वाधार तयार गरिरहेको जानकारी दिए ।
यसैबीच फाइनल चरणमा प्रवेश गरेसँगै बिभिन्न ब्यक्तिहरुले मध्यपश्चिम क्लबका खेलाडी तथा पदाधिकारीहरुलाई बधाई दिएका छन् । कोहलपुर नगरपालिकाबाट मेयर पदका उम्मेदवार समेत रहेका अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपानेले खुसी ब्यक्त गर्दै शुभकामना ब्यक्त गरेका छन् । त्यसैगरी पुर्व राष्ट्रिय कप्तान लेख बहादुर क्षेत्रीले यस क्षेत्रको शिर उचो बनाउन क्लब र खेलाडीहरुले गरेको मेहनतको प्रशंसा गर्दै खुसी ब्यक्त गरेका छन् ।
प्रतियोगिताको बिजेताले १ लाख ५० हजार नगद प्राप्त गर्ने छ भने उप बिजेतालाई १ लाख नगर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ८, २०७४     2:11:38 PM  |